• २० असोज २०८१, आइतबार

परम्परागत रूपमा चल्दै आएका पानीघट्ट लोप हुँदै

blog

बाबुराम शर्मा

दोलखा, पुस १५ गते । नेपालमा आएका आधुनिक प्रविधिको विकाससँगै दोलखामा परम्परागत रूपमा चल्दै आएका पानीघट्ट लोप हुन थालेका छन् । 

विभिन्न प्रकारका विद्युतीय उपकरणको प्रयोग बढेसँगै परम्परागत रूपमा सञ्चालनमा आएका यी पानीघट्ट लोप हुन थालेका भीमेश्वर नगरपालिका–७ का पानी घट्ट सञ्चालक रमेश भुजेलले बताउनु भयो ।

उहाँले गुनासो सुनाउँदै भन्नु भयो, प्रविधिको विकाससँगै गाउँघरमा जताततै धमाधम नयाँ प्रविधिका मिलले अनाज पिँध्ने भित्रिएपछि पानीघट्ट लोप हुन लागेका हुन् । जिल्लाभरि नै यस्तै अवस्था बनेको छ । 

पानी घट्ट सञ्चालक भुजेलले करिब १५ वर्षदेखि यो पेसा अपनाउँदै आउनु भएको थियो । पानी घट्टमा भन्दा आधुनिक यन्त्रहरूबाट पिसानी छिटो हुने भएकाले मानिसहरू यस प्रति आकर्षित भएका  हुन्।  यसरी आधुनिक यन्त्र प्रयोग गरेका कारण पानी घट्ट सङ्कटमा परको हो । 

वर्षा मौसममा प्रशस्त पानी हुने हिउँद महिनामा खोलामा पानी कम हुँदा  पानी घट्ट चलाउन समेत मुस्किल सिर्जना हुनाले पनि निरन्तर पाइने मिल प्रयोग गर्न थालेपछि लोप हुँदै जान थालेका पानी घट्ट सञ्चालकको भनाइ रहेको छ ।

पानी घट्ट एउटा परम्परागत प्रविधिमा आधारित यन्त्र हो । यो ओरालो जमिनमा लगभग १५ फिटको लामो पाइपको माध्यमबाट पानी खसाली पङ्खालाई पानीको बलले घुमाई  माथिल्लो ढुङ्गो घुमेपछि मकै, कोदो जस्ता अन्न पिसानी सुरु हुन्छ ।