• १६ चैत २०८२, सोमबार

पाँच सय भिक्षुसहित धम्मयात्रा सम्पन्न

blog

भैरहवा समाचारदाता

भैरहवा, चैत १६ गते । पाँच सय कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत भैरहवामा आयोजित धम्मयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । 

करिब पाँच सय नवप्रवजित सामणेर तथा भिक्षुको सहभागितामा सम्पन्न यात्राले शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गरेको छ । भगवान् बुद्धले राजगृहदेखि कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राबाट प्रेरित यस धम्मयात्रालाई धार्मिक अनुष्ठान मात्र नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरिएको थियो ।

धम्मयात्राका क्रममा गेरुवा वस्त्रधारी बौद्ध भिक्षुहरू लामबद्ध भई अघि बढ्दै भिक्षुहरूले काँधमा आफ्ना व्यक्तिगत सामग्री राखिएको झोला (ग्वापा) बोकेका थिए । उनीहरू नाङ्गा खुट्टा हिँडिरहेको दृश्यले तपस्या, सादगी र अनुशासनको सन्देश दिएको थियो ।

कार्यक्रमका क्रममा बोल्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बुद्ध जन्मभूमि नेपाल भएकोमा सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजमा हुने हिंसात्मक तथा अमानवीय गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले मानव मानवबिच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना विकास गर्नुपर्नेमा जोड दिँदै ‘म’ होइन ‘हामी’ भन्ने भावनालाई आत्मसात गर्न आग्रह गर्नुभयो । उहाँले बुद्धका अष्टाङ्गिक मार्ग र पञ्चशीलका सिद्धान्तलाई व्यवहारमा लागु गर्नु नै यस्ता कार्यक्रमको सार्थकता हुने धारणा व्यक्त गर्नुभयो ।

सभामुख घर्तीमगरले लुम्बिनी प्रदेशको नामकरण बुद्ध जन्मभूमिको पहिचानसँग जोडिनु गर्वको विषय भएको उल्लेख गर्दै यसले प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा बलियो बनाएको बताउनुभयो । आयोजकका अनुसार यस धम्मयात्राले लुम्बिनी क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमा समेत महìवपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।