भक्तिविलास पोखरेल
गाईघाट, चैत १६ गते । नवनिर्वाचित सांसद पारशमणि गेलालले मुलुकमा सुशासन कायम गरेर विधिको शासन स्थापनाका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका उहाँ उदयपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
यसअघि चार पटकसम्म लगातार नेपाली कांग्रेसका डा. नारायण खड्काले चुनाव जितेको उदयपुर–१ मा गेलालले पहिलो पटक नै ३० हजार ५९० मत पाएर संसद्को यात्रा तय गर्नुभएको हो । गेलालले समृद्ध देश बनाउन विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काएर सिपमा आधारित कृषि, लघु उद्योगसँग जोड्न सके मात्र युवा पलायन रोक्न सकिने धारणा व्यक्त गर्नुभयो ।
छिमेकी मुलुक चिनलगायत अमेरिका र युरोपका दर्जनौँ मुलुकको भ्रमण गरी विकास निर्माणका आधुनिक मोडललाई नजिकबाट नियाल्नुभएका सांसद गेलालले प्राकृतिक स्रोतको उपभोगबाट देशको विकास गर्न सकिने सम्भावना औँल्याउँदै कानुन अभावका कारण जे जे समस्या भएका छन् त्यसको गाँठो फुकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सडक होस् या पुल निर्माणको काम नै किन नहोस् एउटा रुख काट्न वनको नियमले धेरै कानुनी झन्झट देखिएको र योजना समयमा सम्पन्न हुन नसकिएको अवस्था छ । अब यस्तो कुरा हटाइनु पर्छ ।” हामीले वातावरणमा खलल नगरी पर्यावरणलाई जोगाएर विभिन्न खानी उत्खनन गर्न र उद्योग सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले कानुनको अभावमा रोकिएका कुनै पनि विकास निर्माणका काम अब नरोकिने दाबी गर्नुभयो ।
अन्तर्राष्ट्रियस्तरको व्यापार र वाणिज्य क्षेत्रको अनुभवसमेत बटुल्नुभएका सांसद् गेलालले आपूm असल शासनको हिमायती भएको प्रस्ट पार्दै विधायकको काम कानुन निर्माण गर्ने भए पनि उदयपुर–१ को विकास निर्माणमा आफूकेन्द्रित हुने र चुनावी अभियानका व्रmममा वाचा गर्ने मात्र हैन परिणाम देखाउने गरी आमजनताका जनजीविकाका सवालमा इमानदार र पारदर्शी ढङ्गले आपूmले काम गर्ने बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै समस्या देखेको बताउँदै उहाँले कानुन निर्माणसँगै ती समस्या समाधानमा सदन र सरकारमा कुरा उठाउने बताउनुभयो । बुवा दुर्गाप्रसाद गेलाल र आमा रेणुकादेवी गेलालका जेठा छोरा पारशमणि गेलाल उदयपुर जिल्लाको साबिक हडिया गाविसको वडा नं. २ स्थित ज्यामिरेगाउँमा जन्मनुभएको हो ।
मध्यम वर्गीय परिवारमा जन्मिएका गेलालले स्थानीय थानपोखरी जनता माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षा विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएको छ
यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजय हुनुभएका गेलालले परम्परागत राजनीतिक प्रभावलाई चुनौती दिनुभएको छ । उहाँ ३० हजार ५९० मत ल्याएर विजयी हुनुभएका उहाँले श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ को फराकिलो मतान्तरले पराजित गर्नुभएको हो । रास्वपाबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिँदा उहाँले विशेष गरी युवापुस्ताको ध्यान खिच्न सफल हुनुभयो । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना, वैज्ञानिक तथा व्यावहारिक शिक्षामा जोड र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उहाँका प्रमुख प्राथमिकता हुन् । उहाँ भन्नुहुन्छ, “नयाँ सोच र स्पष्ट विचारका साथ विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता मेरो छ ।”
आफूले कामलाई बढी प्राथमिकता दिने भएकोले उदयपुर–१ का मतदाताले विश्वास गरेको उहाँको भनाइ छ । विश्वास खेर जान नदिने स्पष्ट पार्दै गेलालले यस क्षेत्रको समग्र विकासलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । यहाँका समस्या विकासे मुद्दा समाधानका लागि संसद्मा जोडदार आवाज उठाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी हदैसम्मको प्रयास गर्ने बताउनुभयो ।