• १६ चैत २०८२, सोमबार

बसाइँसराइ रोक्न ‘आदर्श गाउँ’ योजना

blog

इमानसिंह राना

रामपुर (पाल्पा), चैत १६ गते । पाल्पा क्षेत्र नं. १ को राजनीतिक इतिहास लामो समयदेखि एउटै धारमा बगिरहेको थियो । २०४८ सालपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवारले जित निकाल्न सकेका थिएनन् । तर यस पटक त्यो इतिहास तोडिएको छ । युवा नेता सन्दीप राना जनताको मतबाट प्रतिनिधि सभामा निर्वाचित हुँदै नेपाली कांग्रेस पार्टीको इतिहास रच्न सफल हुनुभयो । 

रामपुर नगरपालिका–४, गिजिनडाँडामा जन्मिएका रानाको यात्रा निकै सङ्घर्षपूर्ण छ । नेपाल विद्यार्थी सङ्घमार्फत राजनीतिक अभ्यास सुरु गरेका रानाले आफ्नो अध्ययन भारतको दिल्ली विश्वविद्यालयमा राजनीतिशास्त्र विषयमा गर्नुभयो । अध्ययनका क्रममा उहाँले नेपाल विद्यार्थी सङ्घ भारतको सभापति, विश्व विद्यार्थी युवा सङ्घको अन्तर्राष्ट्रिय सचिव र अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानको अध्यक्ष जस्ता जिम्मेवारी समाल्नुभयो ।

पार्टी सङ्गठनको विभिन्न तहमा काम गर्दै आएका उहाँ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सदस्य बन्नुभयो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि अन्तिम चयनमा नपरेका राना यस पटक प्रत्यक्षतर्फ एकल सिफारिसमा अघि बढ्नुभयो र अन्ततः विजयी बन्नुभयो ।

१८ हजार ३३६ मतसहित उहाँ विजयी हुँदा निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का नारायण आचार्यले १६ हजार ८१९ मत पाउनुभएको थियो । प्राप्त जितलाई रानाले व्यक्तिगत उपलब्धिभन्दा पनि लोकतन्त्रका लागि पुराना पुस्ताले गरेको सङ्घर्षको प्रतिफलका रूपमा लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “यो मेरो जित होइन, लोकतन्त्रमा विश्वास गर्ने सबैको जित हो ।”

पाल्पा–१ भौगोलिक रूपमा जटिल भए पनि प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्भावनाले समृद्ध छ तर यही क्षेत्रबाट निरन्तर बसाइँसराइ भइरहेको छ । गाउँ रित्तिँदै जानु राना आफू र आफ्नो निर्वाचन क्षेत्रका लागि गम्भीर चिन्ताको विषय भएको बताउनुहुन्छ ।

यही समस्याको समाधानका रूपमा उहाँले ‘आदर्श गाउँ’ अवधारणा अघि सार्नुभएको छ । उहाँका अनुसार आदर्श गाउँ त्यस्तो हुने छ, जहाँ आधारभूत सेवा सुविधा, शिक्षा, स्वास्थ्य, संस्कृति र रोजगारी सबैको सुनिश्चित हुने छ । उहाँका अनुसार गाउँमै अवसर सिर्जना गर्न सके मात्रै बसाइँसराइ रोक्न सकिन्छ र रोक्नु पर्छ ।”

रानाको प्राथमिकता पर्यटन क्षेत्र पनि छ । उहाँ पाल्पा–१ लाई नमुना संसदीय क्षेत्र बनाउने लक्ष्यसहित अघि बढ्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कालीगण्डकी उपत्यकालाई वैदिक ग्रन्थ र पुराणसँग जोडेर धार्मिक आध्यात्मिक पर्यटन केन्द्र बनाउने, ऐतिहासिक कोट र गढीलाई समेट्दै इतिहासमा आधारित पर्यटन प्रवर्धन गर्ने मेरो प्राथमिकता छ ।”

उहाँले दक्षिण भेगका आदिवासी जनजातिको संस्कृति, जीवनशैली र परम्परालाई पर्यटनसँग जोड्ने बताउनुभयो । यी योजनामार्फत स्थानीय रोजगारी सिर्जना, आय वृद्धि र क्षेत्रीय पहिचान सुदृढ गर्ने उहाँको विश्वास छ ।

एक वडा एक उत्पादन नीति अनुसार स्थानीय उत्पादनको प्रवर्धन र बजार व्यवस्थापन गर्ने योजना उहाँको छ । युवालाई स्वदेशमै अवसर दिन “स्टार्टअप नीति” ल्याउने उहाँले बताउनुभयो । जसले विदेशमा सिकेका सिप र अनुभव गाउँमै प्रयोग गर्ने वातावरण बनाउने छ ।

रानाको दृष्टिमा विकासको दीर्घकालीन आधार शिक्षा हो । त्यसैले उहाँले माटो सुहाउँदो शिक्षा नीति ल्याउनुपर्ने धारणा राख्नुहुन्छ । जुन नीतिले स्थानीय आवश्यकता, संस्कार र सिपलाई प्राथमिकता दिने छ । त्यसै गरी महिलालाई सिपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने कार्यक्रम पनि उहाँको प्राथमिकतामा छ ।

नेता चुनाव जितेपछि फर्किदैनन् भन्ने आमगुनासोलाई चिर्न रानाले ‘मेरो सांसद मेरो अधिकार’ कार्यक्रम घोषणा गर्नुभएको छ । यस अन्तर्गत प्रत्येक पालिकामा नागरिक सांसद संवाद केन्द्र स्थापना गर्ने र जनताको समस्या प्रत्यक्ष सुन्ने र समाधानमा जोड दिने उहाँले बताउनुभयो ।