• १२ असोज २०८१, शनिबार

सेवाग्राहीलाई कर्मचारीको मुक्का

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस १५ गते ।  जग्गाको राजस्व बुझाउन गएका सेवाग्राहीलाई विराटनगर–१६ नम्बर वडा कार्यालयका कर्मचारीले हातपात गरेका छन्। उपभोक्ता समिति गठनका लागि कागजात तयार गर्ने क्रममा समितिमा बस्नेको राजस्व बुझाउन गएका बेला राजस्व फाँटका कर्मचारीले सेवाग्राहीमाथि हातपात गरेका हुन्। 

विराटनगर–१६ निवासी जीर्सीदेवी मण्डलको नाममा रहेको जग्गाको राजस्व बुझाउन छोरा जितेन्द्र मण्डल जानुभएको थियो। एउटै पुर्जामा भएको दुई कित्ता जग्गामध्ये एउटा कित्ताको मात्रै कर बुझाउने विषयमा भएको छलफलका क्रममा सँगै जानुभएका ४० वर्षीय अनिल खतिवडामाथि कुटपिट भएको हो। 

राजस्व फाँटका कर्मचारी रवि सुब्बाले खतिवडालाई धेरै जान्ने नबन्न धम्की दिँदै कुटपिट गर्दा आँखा र नाकमा चोटसमेत लागेको छ। कार्यालयको राजस्व फाँटमा कार्यरत सुब्बाले दुई कित्ताको कर नबुझाए महानगरपालिका जानका लागि सुझाव दिनुभएको थियो। सेवाग्राहीले दुवै कित्ताको राजस्व बुझाउनु परे पनि तयार भएर जाँदा बढी जान्ने भएको भन्दै एक्कासि हातपात गरेको पीडित खतिवडाले जानकारी दिनुभयो।

“कर नबुझाउने भनेका थिएनौँ, खाली प्रक्रिया मिल्छ कि मिल्दैन भनेर सोधेका थियौँ,” खतिवडाले भन्नुभयो। “दुवै कित्ताको नबुझाउने भए महानगरपालिका जानु भनेपछि हामीले बुझाउनु पर्ने कर बुझाउँछौँ भनेर जाँदा यहाँ हुँदैन भन्ने जवाफ आयो। त्यसपछि दुःख किन दिनुहुन्छ भन्दा तँ बढी जान्ने हुन्छस् भन्दै धमाधम मुक्का प्रहार गरिहाल्नुभयो।” 

खतिवडाको आँखामा गहिरो चोट लागेको छ। नाकबाट रगत बगेपछि स्थानीय स्वास्थ्य चौकीमा तत्काल प्राथमिक उपचार गरिएको छ। विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेलले सेवाग्राहीमाथि हातपात गर्ने कर्मचारीलाई कारबाही गर्न माग गर्दै पत्रसहित महानगरपालिकामा फिर्ता पठाइएको जानकारी दिनुभयो। 

सार्वजनिक स्थानमा कुटपिट गर्ने र गालीगलौज गर्ने कर्मचारीमाथि विभागीय कारबाही गरिने भएको छ। कर्मचारीको कुटपिटबाट घाइते सेवाग्राही खतिवडाले इलाका प्रहरी कार्यालय रानीमा घटनाबारे जानकारी गराएर कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको जानकारी दिनुभयो।