• १६ चैत २०८२, सोमबार

एसईई सञ्चालन गर्न केन्द्राध्यक्ष तोकियो

blog

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङ ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १६ गते । यही चैत १९ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष तोकिएको छ । एसईई सञ्चालन हुने जिल्लाका ११ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार जिल्ला परीक्षा समन्वय तथा सहजीकरण समितिको बैठकले एसईई सञ्चालन गर्न केन्द्राध्यक्ष तोकेको हो । 

परीक्षा केन्द्र निर्धारण भएको विद्यालयकै प्रधानाध्यापक वा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो । 

इकाइ प्रमुख भट्टराईका अनुसार सबैभन्दा बढी चारवटा परीक्षा केन्द्र रहेको फुङ्लिङ नगरपालिकास्थित भानुजन माध्यमिक विद्यालयमा किशोरकुमार राईलाई केन्द्राध्यक्ष तोकिएको छ । राई सोही विद्यालयका प्रधानाध्यापक हुनुहु्नछ । बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय केन्द्रमा त्यहााका वरिष्ठ शिक्षक शान्तिराम नेपाललाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै युवा वर्ष माध्यमिक कैंजले दोखुमा चन्द्रमणि पौडेल र सिद्धकाली माध्यमिक विद्यालय बोझे दोखुमा अमरकुमार राईलाई केन्द्राध्यक्ष तोकिएको छ । 

पौडेल र राई सम्बन्धित विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । सिरिजङ्घा गाउँपालिकास्थित सिनाम माध्यमिक विद्यालय केन्द्रमा वरिष्ठ शिक्षक तुलसीराम पोख्रेलले केन्द्राध्यक्षको जिम्मेवारी पाउनुभएको छ । 

सिरिजङ्घाकै तेल्लोक माध्यमिक विद्यालयमा प्रधानाध्यापक रुकमान थेबेलाई केन्द्राध्यक्ष तोकिएको छ । यसैगरी सिदिङ्वा गाउँपालिकास्थित भञ्ज्याङ माध्यमिक विद्यालयमा प्रधानाध्यापक राजेन्द्र इधिङ्गो केन्द्राध्यक्ष तोकिनुभएको छ ।

त्यस्तै आठराई त्रिबेणी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय हाङ्पाङ केन्द्रमा सोही विद्यालयका प्रधानाध्यापक चन्द्रकुमार तामाङले केन्द्राध्यक्षको जिम्मेवारी पाउनुभएको छ । फक्ताङ्लुङ गाउँपालिकास्थित सिँवा माध्यमिक विद्यालय केन्द्रमा 

प्रधानाध्यापक निर्मला तामाङ, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालय केन्द्रमा कमलबहादुर चेम्जोङ केन्द्राध्यक्ष तोकिनुभएको छ । पाथीभरा याङ्वरक गाउँपालिकास्थित थेचम्बु माध्यमिक विद्यालयमा सोही विद्यालयका प्रधानाध्यापक पुष्पादेवी खरेलले केन्द्राध्यक्षको जिम्मेवारी पाउनुभएको छ । 

गत वर्ष एसइइका लागि १७ केन्द्र रहेकोमा यसवर्ष विद्यार्थी सङ्ख्याका आधारमा छ केन्द्र कटौती भई ११ वटा केन्द्र निर्धारण गरिएको हो । समन्वय इकाइका अनुसार यसपटक एउटा केन्द्रमा कम्तिमा १५० जना परीक्षार्थी हुनुपर्ने निर्देशिका आएको थियो ।

एसइईका लागि निर्धारण गरिएको ११ केन्द्रमार्फत जिल्ला सामुदायिक विद्यालय ६२ वटा र संस्थागत छ वटा विद्यालयका गरी कुल दुई हजार ९४७ विद्यार्थीले सहभागिता जनाउने छन् ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार साधारणतर्फ नियमित एक हजार ३४० र ग्रेडवृद्धिका ५४७ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । त्यस्तै प्राविधिक धारतर्फ नियमित १०३ र ग्रेडवृद्धिका १९ गरी १२२ जना परीक्षार्थी रहेका छन् ।