• २० असोज २०८१, आइतबार

डुडुवामा सडक निर्माण सुरु

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, पुस १५ गते । बाँकेको डुडुवा गाउँपालिकाले पालिकाभित्रको सबैभन्दा ठूलो सडक निर्माण सुरु गरेको छ। गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पीसीसी (प्लेन सिमेन्ट कङ्क्रिट) सडक निर्माणको कार्य सुरु गरिएको पालिकाले जनाएको छ। 

सडक निर्माणपश्चात् गाउँपालिकाको वडा नं. २ अन्तर्गत डुडुवा, नालापारि, रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटाइपुर्वाका करिब साढे तीन सयभन्दा बढी घरधुरी र नरैनापुर गाउँपालिकाका केही मानिसले प्रत्यक्ष लाभ लिनेछन् भने कृषिकर्मका लागि पनि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो। 

उहाँका अनुसार सडक अभावमा अहिले त्यस क्षेत्रका करिब छ गाउँका चार हजारभन्दा बढी नागरिकलाई आवतजावतका लागि निकै सास्ती हुँदै आएको छ। विशेषगरी वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुँदै आएको छ। सडक अभावमा बिरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको अध्यक्ष चौधरीले बताउनुभयो। डुडुवा गाउँपालिका–२, अमृतपुर्वादेखि रामनगर पाझासम्म साढे तीन किलोमिटर पीसीसी सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्नुभएको छ। शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रका स्थानीयका लागि आवतजावतमा सजगताका लागि ठूलो समस्या रहेकाले यो सडक निर्माणपछि ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाकै अति दुर्गम र बाढी डुबानबाट पीडितलाई सिधा सम्पर्कमा जोड्न सो सडक निर्माण सुरु गरिएको गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ। साढे तीन किलोमिटर पीसीसी सडकसँगै एउटा कज्वे, १५ वटा कल्भर्ट निर्माणको कार्य सुरु गरिएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनुभयो। उहाँका अनुसार नारायण निर्माण सेवा प्रालिले छ करोड नौ लाख २२ हजार ६२७ रुपियाँको लागतमा सो सडक निर्माण गर्नेछ। 

डुडुवा गाउँपालिकाका प्रायः सबै वडा बाढी प्रभावित क्षेत्र रहेकाले त्यहाँका अधिकांश सडक पीसीसी नै उत्तम मानिएकाले सबैजसो सडक पीसीसी नै निर्माण गरिएको पालिकाले जनाएको छ। पालिकामा निर्माण भएका अधिकांश सडक पीसीसी गरिएको छ। यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रेभन्दा पनि भरपर्दो रहेकाले उत्तम मानिएको बताइएको छ।