• २० असोज २०८१, आइतबार

विश्व शिक्षक दिवस

शिक्षकका योगदान र समस्या सुनाउन केन्द्रित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २० गते । समाजमा शिक्षकले पुर्‍याएको योगदानको कदर गर्दै शनिबार विश्वभर एक साथ विश्व शिक्षक दिवस मनाइएको छ । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिएको भए पनि शिक्षाका गुणस्तर र शिक्षकका समस्या समाधानमा उल्लेख्यनीय योगदान दिन सकेको छैन । 

नेपाल शिक्षक महासङ्घ तथा शिक्षकका अन्य पेसागत सङ्गठनहरूले समेत शनिबार ‘शिक्षकका आवज सुन्नूस्’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ तर हरेक वर्ष शिक्षक दिवस मनाउने गरेको भए पनि देखिने गरी शिक्षक र शिक्षाका समस्या समाधान हुन नसकेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । 

पछिल्लो समय शिक्षक र विद्यालय शिक्षा निकै समस्याबाट गुज्रिरहेको छ । शिक्षक सेवा आयोगले माग गर्दा आवश्यक सङ्ख्यामा शिक्षक पदमा योग्य उम्मेदवार पाउन सकिरहेको छैन । साथै आयोगले माग गरेको सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण हुन पनि सकेका छैनन् । उत्तीर्ण हुने योग्यता भएकाले शिक्षक सेवा आयोगको परीक्षा दिनै छाडेका छन् । आकर्षक मासिक तलब, सञ्चयकोष, पेन्सन आदिको व्यवस्था भएको नेपाल सरकारको स्थायी शिक्षक माग गर्दा पनि यस्तो अवस्था आउनु दुःखद भएको शिक्षकका पेसागत सङ्गठनका अगुवाको भनाइ छ । 

नेपाल शिक्षक सङ्गठनका महासचिव हंशबहादुर शाहीले विद्यालय शिक्षा र शिक्षकका लागि राज्य स्तरबाट कम लगानी भएका कारण यस्तो अवस्था आएको बताउनुभयो । उहाँका अनुसार अबको शिक्षा कस्तो हुने ? शिक्षकका आवाज कसरी मूल्याङ्कन गर्ने ? लगायतका विषयमा आफूहरूले निरन्तर बहस उठाउँदै आएको तर निष्कर्षमा पुग्न नसकेको शाहीको भनाइ छ । 

“हालको कानुनले २०७५ चैत ४ पछाडि निवृत्तिभरण नपाउने भनेको छ, त्योभन्दा अघि नै विज्ञापन भएकोले पनि । त्यसपछि सामाजिक सुरक्षाकोषमा पनि गएको छैन,” शाहीले भन्नुभयो, “यस्तो अवस्थाले शिक्षण पेसामा नागरिकलाई आकर्षण गराउन सक्दैन । यसतर्फ सरकार गम्भीर हुनु पर्छ ।”

सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त आयोजनामा फ्रान्सको पेरिसमा शिक्षकहरूको स्थितिसम्बन्धी सम्मेलन भएको थियो । उक्त सम्मेलन अक्टोबर ५ मा समापन भएको थियो । त्यही दिनको स्मरणमा युनेस्कोको आह्वानमा सन् १९९४ देखि अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो । त्यसपछि बिस्तारै यो दिवस विश्वव्यापी बन्न थालेको हो ।