• २० असोज २०८१, आइतबार

सडक विस्तारले बैङ्किङ कारोबार ठप्प

blog

वसन्त पराजुली

भरतपुर, पुस १५ गते  । नारायणगढ–गोन्द्रङ सडक विस्तारका क्रममा सडक क्षेत्रमा परेका नारायणगढका घर भत्काइएपछि सो क्षेत्रमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएको छ । भत्किएका घरमा कार्यालय रहेका बैङ्क तथा वित्तीय संस्थाले कारोबार बन्द गरेका छन् । 

गत शुक्रबारदेखि नै कारोबार रोकेको राष्ट्रिय वाणिज्य बैङ्क, नारायणगढ शाखाका प्रबन्धक रोमप्रसाद सिलवालले भन्नुभयो, “भौतिक संरचना भत्कनुका साथै टेलिफोन, बिजुली, इन्टरनेटको लाइन काटिएको छ । कसरी सेवा दिन सकिन्छ र ?” प्राविधिक विज्ञसहितको टोलीले मर्मत सुधार सुरु गरेकाले आइतबारसम्ममा सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

नारायणगढ क्षेत्रमा अहिले बैङ्क तथा वित्तीय संस्थाका ३५ वटा कार्यालय छन् । यी सबै बैङ्कमा यो समस्या छ । यो क्षेत्रमा यीमध्ये अधिकांशले कारोबार रोकेका छन् । 

एभरेस्ट बैङ्कको नारायणगढ शाखाका प्रबन्धक जगदीश कार्कीले सडक विभागले अग्रिम सूचना जारी नगर्दा यो समस्या भोग्नु परेको गुनासो गर्नुभयो । उहाँले अहिले इन्टरनेट, टेलिफोन र बिजुलीका सेवा दिने निकायलाई समयमा सो सेवा जडान गर्न आग्रह गर्दा पनि आलटाल गर्दा बैङ्कले सेवा दिन ढिलाइ भएको बताउनुभयो । 

नारायणगढको हिमालयन बैङ्कले भने आफ्नो सेवा सञ्चालन गरिरहेको छ । वैकल्पिक साधन प्रयोग गरेर बैङ्किङ कारोबार गरिरहेको सो बैङ्कका प्रबन्धक कवीन्द्र पाण्डेले जानकारी दिनुभयो । “सडक विस्तारका क्रममा संरचना हाम्रो पनि भत्काइएको छ । हामीले सेवाग्राहीलाई समस्या नहुने गरी सेवा पनि दिइरहेका छौँ,” उहाँले भन्नुभयो । 

अत्यावश्यक सेवाअन्तर्गत पर्ने बैङ्क तथा वित्तीय संस्थाको कारोबार ठप्प हुँदा उद्योग व्यवसाय पनि समस्या परेका छन् । चितवन उद्योग सङ्घका अध्यक्ष तिलोचन कँडेलले अर्बौं रुपियाँ नगद भण्डारण गरिने बैङ्क तथा वित्तीय संस्थाको सुरक्षामै प्रभाव पर्ने गरी संरचना भत्काइनु गलत भएको बताउनुभयो । 

“बैङ्क तथा वित्तीय संस्थाको सुरक्षाका दृष्टिले पनि जोखिम हुन्छ भन्ने बुझ्दाबुझ्दै असुरक्षा हुने गरी तोडफोड गरियो यो साह्रै निन्दनीय काम भयो । बैङ्किङ क्षेत्रमा देखिने यस्ता संवेदनशील कुरामा ध्यान दिन जरुरी छ,” उहाँले थप्नुभयो ।

नारायणगढ बजारमा सडक क्षेत्र मिचेर बनाइएका घर संरचनामा डिभिजन सडक कार्यालय, भरतपुरले गत शुक्रबारदेखि डोजर चलाइरहेको छ । 

नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको अहिले भरतपुर हाकिमचोक हँुदै बस टर्मिनलसम्म पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने सो सडक विस्तार गरी छ लेन बनाउन सडक क्षेत्रभित्रका घर भत्काउनु परेको हो । 

सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ती घरले २० देखि एक सय मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने गरी निर्माण गरेका थिए ।