• २० असोज २०८१, आइतबार

दुई पालिका अझै प्रहरीविहीन

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस १५ गते । सिन्धुली जिल्लामा दुईवटा स्थानीय तह अझै गाउँ तथा नगर प्रहरीविहीन अवस्थामा रहेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये सुनकोसी र घ्याङलेख गाउँपालिकाले बजेट अभाव भन्दै गाउँ तथा नगर प्रहरी राख्न सकेका छैनन् । सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बजेट अभावमा गाउँ तथा नगर प्रहरी राख्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले बजेट बनाउँदा ३८ करोड रुपियाँ स्वास्थ्य, शिक्षा, भेटेरिनरी, महिला तथा बालबालिकालगायतका शीर्षकमा बाँड्न पाउने रहेछौँ । हरेक शीर्षकमा बजेट वितरण गर्दा गाउँ तथा नगर प्रहरीका लागि विनियोजन गर्न पुगेन ।”

त्यस्तै घ्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन पनि बजेट अभाव र आवश्यकता नभएकाले पनि गाउँ तथा नगर प्रहरी नराखेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँपालिका अध्यक्षमा मेरो दोस्रो कार्यकाल हो । मैले त गाउँ तथा नगर प्रहरी राखेको पनि छैन, त्यसको आवश्यकता पनि देख्दिनँ ।”

अबचाहिँ आउने परिषद्बाट बजेट छुट्याई दुई जनासम्म गाउँ तथा नगर प्रहरी राख्ने कि भन्ने सोच रहेको उहाँको भनाइ छ । बाँकी सातवटा स्थानीय तहले पहिलो कार्यकालमै गाउँ तथा नगर प्रहरी राखेर जनतालाई सेवा प्रवाह गरेको जनाएका छन् । 

जिल्लाको कमलामाई, दुधौली नगरपालिका, गोलन्जोर, फिक्कल, मरिण, हरिहरपुरगढी र तीनपाटन गाउँपालिकाले पहिलो कार्यकालमै नगर प्रहरी भर्ना गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११ को उपदफा २ (क)मा व्यवस्था भएबमोजिम गाउँ वा नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगर प्रहरीले कार्यालयको काममा सहजीकरण गर्नुका साथै सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, विपत् व्यवस्थापनसम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायतका काममा जुटेका छन् ।”

अनधिकृत निर्माण एवं सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाका आधारमा करार सेवामा गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । 

गाउँ तथा नगर प्रहरी हाल कमलामाई नगरपालिकामा असईको नेतृत्वमा १९ जना, दुधौली नगरपालिकामा असईको नेतृत्वमा १६ जना, हरिहरपुरगढी गाउँपालिकामा चार जना, मरिण गाउँपालिकामा छ जना, फिक्कल गाउँपालिकामा पाँच जना, तीनपाटन गाउँपालिकामा दुई जना, गोलन्जोर गाउँपालिकामा तीन जना रहेको ती पालिकाहरूले जनाएका छन् । गाउँ प्रहरी राखेपछि पालिकाको विभिन्न कामकाजमा सहयोग पुगेको फिक्कल गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिकाले हवल्दारको कमान्डमा तीन जना पुरुष र दुई जना महिला गाउँ प्रहरी भर्ना गरी सेवा दिएको छ । गाउँ सभाबाट दरबन्दी सिर्जना गरी गाउँ प्रहरी भर्ना गरिएको हो ।”