• २० असोज २०८१, आइतबार
blog

टीकापुर समाचारदाता

टीकापुर, पुस १५ गते ।  राष्ट्रिय गौरवको रानी जमरा–कुलरिया सिँचाइ आयोजना निर्माण सुरु भएको १२ वर्षपछि नहरमा पानी पठाएर परीक्षण गरिएको छ। आयोजनाको लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित कर्णाली नदीमा रहेको इन्टेकबाट पानी पठाएर २२.६५ किलोमिटर नहर परीक्षण गरिएको हो। 

आयोजना निर्देशक केदारकुमार श्रेष्ठका अनुसार मूल नहरको आठ किलोमिटर र लम्की शाखाको १४ किलोमिटर ६५० मिटर नहरमा पानी सञ्चालन गरी पथरैया नदीमा झारिएको छ।

लम्की शाखा नहरको क्षमता मुहानमा ४० क्युमेक र पुछारमा २८ क्युमेक पानी जाने भए पनि अहिले १० क्युमेक पानी मात्रै पठाइएको छ। आयोजनाका सूचना अधिकारी पे्रम लासिवाका अनुसार उपशाखा नहर बनिनसकेकाले धेरै पानी पठाउन आवश्यक छैन। पथरैयामा तटबन्धको काम भइरहेकाले अहिले १० क्युमेक पानी मात्रै पठाइएको छ। रानी जमरा–कुलरिया शाखामा भने कटाँसेमा निर्माणाधीन ४.७१ मेगावाटको जलविद्युत्को काम भइरहेकाले सकिएपछि मात्रै पानी छाडिने जनाइएको छ।

रानी जमरा–कुलरिया जल उपभोक्ता संस्थाका सचिव परशुराम महतोले सिँचाइ लाग्ने क्षेत्रमा पानी छाड्न विद्युत्को काम छिटो सक्नुपर्ने बताउनुभयो।

आयोजनाले रानी जमरा–कुलरिया क्षेत्रमा १४ हजार तीन सय र लम्की क्षेत्रमा छ हजार गरी २०८०/८१ सम्म २० हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु-याउने लक्ष्य राखेको छ। अर्को चरणमा लम्की शाखा नहरलाई कान्द्रा नदीसम्म विस्तार गरी थप १८ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याइने जनाइएको छ।

आयोजनाको पहिलो चरण (२०६७/६८ देखि २०७४/७५) सम्म १२ अर्ब ३७ करोड ७५ लाख खर्च भएको छ भने दोस्रो चरण (२०७४/७५ देखि २०८०/८१) मा २७ अर्ब ७० करोड २४ लाख खर्च हुनेछ। यसमा नेपाल सरकारको लगानी १७ अर्ब ५६ करोड ७२ लाख, विश्व बैङ्कबाट नौ अर्ब ९५ करोड ५१ लाख र १८ करोड उपभोक्ता समितिको लगानी भइरहेको छ। आयोजनामा हालसम्म १६ अर्ब ३५ करोड (लक्ष्यअनुसार ६० प्रतिशत) खर्च भइसकेको छ।

सूचना अधिकारी लासिवाका अनुसार आयोजनाको भौतिक प्रगति पनि ६० प्रतिशत नाघेको छ। आयोजनाबाट हालसम्म ३३.६५ किलोमिटर नहर, १५ वटा पुल, ३५ वटा बक्स कल्भर्ट, ६० वटा ह्युमपाइप कल्भर्ट, ७० किलोमिटर तटबन्ध, १६० किलोमिटर सडक ग्राभेल, उपशाखा नहरमा १९ वटा बाँध र ५० वटा साना बाँध निर्माण भइरहेका छन्। जलविद्युत् वैशाखसम्ममा उत्पादन हुने गरेर काम भइरहेको छ।