• २० असोज २०८१, आइतबार

नारायणीमा सौन्दर्य बाँध

blog

रामग्राम समाचारदाता

रामग्राम, पुस १५ गते । भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब ५० करोड रुपियाँको लागतमा ठूलो प्रोटेक्सन (सुरक्षा) बाँध निर्माण गरिरहेको छ। नारायणी नदी (गण्डक नदी)को सौन्दर्य र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिमतर्फ ‘मेका फेरि कन्सेप्ट’मा ‘रिफ्लेक्सन’ बाँध निर्माण गरिरहेको हो। 

गण्डकी प्रदेशको मूल नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६, त्रिवेणी धामदेखि वडा नं. ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम नेपालतर्फ २६ सय मिटर दूरीको उक्त बाँध निर्माण भइरहेको छ। भारतको विहार प्रदेश सरकारले नदीको सौन्दर्य र बाँधको संरक्षणका लागि भारततर्फ बनाएको बाँधजस्तै नेपालतर्फ पनि उस्तै बाँध निर्माण गरिरहेको प्रोजेक्ट म्यानेजर विनयप्रताप सिंहले बताउनुभयो। यस बाँधले नदीछेउमा भइरहेको कटान रोकिने र बाँध थप बलियो हुनेछ।

प्रोजेक्ट म्यानेजर सिंहका अनुसार विहार सरकारले ‘गण्डक रिभर ब्युटिफिकेसन एन्ड प्रोटेक्सन परियोजना’मार्फत त्रिवेणीधामदेखि नदीमा जडान गरिएको नेपाली रेगुलेटरसम्म २६०० मिटर दूरीको बाँध बनाउने कार्यमा तीव्रता दिएको छ। विगत चार वर्षदेखि सुरु गरिएको यस कार्यको ८० प्रतिशत काम सम्पन्न भइसकेको र २० प्रतिशत मात्र काम बाँकी रहेको जानकारी सिंहले दिनुभयो। म्यानेजर सिंहले भन्नुभयो, “नेपाल–भारत गण्डक सम्झौताअनुसार नारायणी नदीको पश्चिम साइडमा नदीको सौन्दर्य र बाँधको संरक्षणका लागि उक्त बाँध बनाउन लागिएको हो।”

सन् २०१९ मार्चदेखि सुरु भएको यो प्रोजेक्ट २०२३ जुनमा सम्पन्न हुने गरी म्याद निर्धारण गरिएको छ। त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्म यो बाँध निर्माण हुनेछ। त्यसमध्ये हाल २६ सय मिटरको काम भएको र आगामी दिनमा थप बजेट विनियोजन भई बाँकी काम पूरा हुने भारतीय पक्षले जनाएको छ। यस कार्यले नेपाली बाँध थप बलियो हुने र यसको सौन्दर्य पनि बढ्ने विश्वास व्यक्त गरिएको छ।

उक्त नदी गण्डक ब्यारेजदेखि तल गण्डक नदीका रूपमा परिणत भएको छ। उक्त नदी नै सुस्ता भूमिलाई घेर्दै भारतको विहार र उत्तर प्रदेश छुँदै पटना पुगेको छ। नारायणी नदीमा नारायणी, तमसा र सोनभद्रा गरी तीन नदी मिलेर त्यस ठाउँको नाम त्रिवेणी भनिएको छ। गण्डक ब्यारेजदेखि उत्तरतर्फको नारायणी नदीलाई स्थानीय नाम त्रिवेणी नदीले पनि चिनिने गरिन्छ।