• २० असोज २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सभाका सदस्यको आज शपथ ग्रहण

blog

शपथ ग्रहणका लागि तयार पारिएको प्रदेश सभा हल

अविनाश चौधरी

धनगढी, पुस १५ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । 

शपथ ग्रहणको कार्यक्रम दिनको १ः३५ बजे प्रदेश सभा हलभित्र हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ ग्रहण गराउनु हुने प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । त्यसभन्दा पहिले ज्येष्ठ सदस्य रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

नेपालको संविधानको धारा १७९ को बमोजिम प्रदेश सभाका सदस्यले प्रदेश सभा वा त्यसको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनु पर्ने व्यवस्था छ । ंप्रदेश सभा सदस्यले आफ्नो मातृभाषासहित मौलिक पोसाकमा शपथ ग्रहण गर्न सक्ने सचिवालयले जानकारी दिएको छ । 

शपथ ग्रहण कार्यक्रमका लागि प्रदेश सभा सचिवालयले तयारी पूरा गरिसकेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), राप्रपासहित छ राजनीतिक दल र एक स्वतन्त्रको प्रतिनिधित्व रहेको छ ।