हरेक वर्ष असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन र निकासी गर्न पाइन्छ। तर, रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीस्थित सुनकोसी नदीमा हरेक मौसममा रातको समयमा एक्साभेटर नै लगाएर नदीजन्य पदार्थ (ढुङ्गा, गिटी र बालुवा)को उत्खनन गरी तस्करी भइरहेको छ।
कुनै दिन स्लेटको (ढुङ्गा) छाना गाउँका रूपमा परिचित दोलखाको बिगु गाउँपालिका–६ को आलम्पु गाउँ अचेल जस्तामय भएको छ। गत २०७२ को भूकम्पपछिको पुनर्निर्माणले गाउँका सबै घरमा जस्ताको छानो लगाइएपछि गाउँ नै जस्तामय बनेको वडाध्यक्ष टहलबहादुर थामीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिले त सबै घरका छाना स्लेटले छाएका चिटिक्क परेको गाउँ देखिन्थ्यो। भूकम्पपछि बनेका घरमा स्लेट लगाउँदा घरलाई बढी भार पर्छ भनेर भनेपछि गाउँको मौलिकता नै मासियो।
आजकल गाउँघरमा नौमती बाजा लोप हुँदै जान थालेको छ । धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा विरलै देख्न सकिन्छ । पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा आजकल लोप हुन थालेको छ । हराउन थालेको छ । प्राय: जसो परुषले मात्र बजाउने नौमती बाजा आजकल महिलाहरूले पनि बजाउन थालेका छन् ।
गत २०७२ को भूकम्पमा परी भत्किएको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति कन्या माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ। एसियाली विकास बैङ्कको अनुदानमा चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपियाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो।
नेकपा [एमाले]को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लीला गिरी चयन हुनु भएकाे छ । दाङको देउखुरीमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत रूपमा संसदीय दलका नेता चयन गरेको हो ।
सहरी विकास तथा भवन कार्यालय सिन्धुलीमार्फत चालू आर्थिक वर्ष २०७९/८० मा सिन्धुली र रामेछाप जिल्लामा ७० वटा विकास निर्माणका योजना सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारको ससर्त अनुदान र बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट ती विकास निर्माणका योजना सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको छ। ती विकास निर्माणका योजना सञ्चालन गर्न चालू आवमा स्वीकृत २६ करोड रुपियाँ बजेटमध्ये चार करोड दुई लाख २५ हजार रुपियाँ बजेट खर्च भइसकेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो।
दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एक जना बालक र उनका बुबा–आमा अस्पतालबाट घर फर्किनबाट रोकिएका छन्। मोरङको सुन्दरहरैँचा १ पचामका १३ वर्षीय रूपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भइसक्दासमेत घर फर्किनबाट रोकिनु परेको हो।
सडक निर्माण अभियानमा अत्यधिक ढिलाइ तथा लापरबाही भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भन्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्दिसाई जेभी, काठमाडौँको अधिक ढिलासुस्तीका कारण सो सडक खण्डअन्तर्गतको दस किलोमिटर दूरीको निर्माण कार्य अलपत्र भएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो। ठेकेदार कम्पनीले सडकमा कालोपत्रे गर्ने काम पूरा गर्ने सङ्केत नदेखिएपछि सडक निर्माणसम्बन्धी ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो।
इसाको मरणकालपछि चलेको संवत्को नयाँ वर्ष २०२३ मनाउने पर्यटकले इलामका चर्चित पर्यटकीय स्थल कन्याम र अन्तु भरिभराउ भएका छन्। सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा यो नयाँ वर्ष मनाउन पर्यटक उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिभराउ भएका हुन्। यहाँ पर्यटकले होटल तथा होमस्टे अग्रिम बुकिङ गरे। नेपालका विभिन्न जिल्ला र विशेष गरी भारतीय पर्यटकले यस पटक अग्रिम रूपमा होटल, होमस्टे बुकिङ गरे।
सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहले प्यानलसहित मनोनयन दर्ता गराएका छन्। नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँदै छ। त्यही दिन नेपाल बार एसोसिएसनमा प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी परिषद् सदस्यका लागि पनि निर्वाचन हुनेछ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीन जिल्लाका विभिन्न १० स्थानमा पार्क निर्माण गर्ने भएको छ। विपत् व्यवस्थापन तयारीका लागि निर्माण गर्न लागिएका ती पार्क बहुउद्देश्यीय हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका इन्जिनियर तथा सूचना अधिकारी सौरभ ढकालका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाको शालिनदी, कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी र नवतनधाम र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा पार्क निर्माण हुनेछ।
नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा तीन जनाको चुनावी प्रतिस्पर्धा हुने भएको छ। दुई चिकित्सकले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने एक चिकित्सकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की र पेसागत समावेशी समूहबाट अध्यक्षमा डा. सन्तोष पौडेलको उम्मेदवारी परेको छ। डा. कार्की क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ भने डा. पौडेल हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। यस्तै मुटुरोग विशेषज्ञ डा. शिवजीविक्रम सिलवालले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।
इतिहासकार ज्ञानमणि नेपाललाई नेपालीपनको अन्त्य हुने चिन्ताले अचेल निद्रा लाग्न छाडेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो समय नेपाली पोसाक, विक्रम संवत् र नेपाली झन्डाबारे विभिन्न तर्क गरी तिनलाई विस्थापित गर्ने होड चलेको बताउँदै भन्नुभयो, “यो होडले नेपालीपनको अन्त्य हुन्छ। यो चिन्ताको विषय हो। यही चिन्ताले मलाई निद्रा नलाग्ने समस्या देखिएको छ।”
कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाममा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको छ। २०७५ साउन १० मा भएको सो घटनाको विभिन्न कोणबाट अनुसन्धान भए पनि अझैसम्म अपराध गर्नेको सुइँकोसमेत प्रहरीले पाएको छैन।
कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन् । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।