• २० असोज २०८१, आइतबार

जस्तामय आलम्पु गाउँ

blog

दोलखा समाचारदाता 

दोलखा, पुस १८ गते । कुनै दिन स्लेटको (ढुङ्गा) छाना गाउँका रूपमा परिचित दोलखाको बिगु गाउँपालिका–६ को आलम्पु गाउँ अचेल जस्तामय भएको छ। 

गत २०७२ को भूकम्पपछिको पुनर्निर्माणले गाउँका सबै घरमा जस्ताको छानो लगाइएपछि गाउँ नै जस्तामय बनेको वडाध्यक्ष टहलबहादुर थामीले जानकारी दिनुभयो। 

उहाँका अनुसार पहिले त सबै घरका छाना स्लेटले छाएका चिटिक्क परेको गाउँ देखिन्थ्यो। भूकम्पपछि बनेका घरमा स्लेट लगाउँदा घरलाई बढी भार पर्छ भनेर भनेपछि गाउँको मौलिकता नै मासियो। 

प्राविधिकले नै अनुदान तीन लाख रुपियाँ आउँदैन भनी जस्तापाता लगाउने सल्लाह दिएपछि यहाँका बासिन्दा स्लेट हटाउन बाध्य भएका हुन्। थामी जातिको घनाबस्ती रहेको आलम्पुमा परम्परागत रूपमा गाउँमाथि रहेको अजङ्गको भीरबाट स्लेट निकाल्ने गरिन्छ। ढलान घर बनाउन सुरु गर्नुअघि स्लेटको छानो लगाउनु इज्जतको विषय मानिन्थ्यो। 

जिल्लामा मात्र होइन यहाँका स्लेट सजाउन अझै काठमाडौँ लैजाने गरिन्छ। यति प्रख्यात हुँदाहुँदै पनि गाउँलेले भने जस्ताको छानो लगाउन बाध्य हुनुलाई विडम्बना मानिएको वडाध्यक्ष थामीले बताउनुभयो। कतिपयले प्राविधिकको सल्लाहलाई पनि मान्दै परम्परालाई पनि थेग्दै घरको छानाको एक लाइन दाँती भने स्लेट नै लगाएका छन्। 

अब निर्माण हुने घरहरूमा भने स्लेट नै लगाउने निश्चित गरिएको उहाँले बताउनुभयो। यहाँका करिब छ सय घरधुरीले स्लेट बेचेर नै जीवनयापन गरिरहेका छन्। स्लेटको पर्याय बनेको यो गाउँका बासिन्दा भुइँ छाप्न र भित्तामा टाँसेर सजाउन हुने स्लेट निकालिरहेका छन्। 

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाभित्र खानी पर्ने हुँदा कानुनी अड्चन आउन लागेकोमा स्थानीय चिन्तित बनेका छन्। कानुनी अड्चनले गाउँका युवा आयआर्जनका लागि विदेशिन बाध्य पनि भएका छन्। सिङ्गो आलम्पुवासीको आयआर्जनको मुख्य स्रोत यो खानी तीनै तहका सरकारले सहज बनाउनुपर्नेमा स्थानीय बासिन्दाहरूको माग रहेको छ।