• २० असोज २०८१, आइतबार

पुलमा दुर्घटना जोखिम

blog

कटानका कारण दुर्घटनाको जोखिममा रहेको पुल ।

अविनाश चौधरी

धनगढी, असोज २० गते । कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदीमा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले कटान गरेपछि दुर्घटनाको जोखिम बढेको हो । 

सो पुलले कैलारी गाउँपालिका –४ को केगाउँ खल्ला र वडा ४ को भगतपुर गाउँलाई जोडेको छ । पहुँचमार्ग कटानका कारण ठुला सवारी साधन ओहोरदोहोर हुन नसकेको सो पुलमा मोटरसाइकल दुर्घटनाको जोखिम रहेको कुसुम चौधरीले बताउनुभयो । 

“यो बाटो भएर हिड्दा सावधानीपूर्वक सवारी साधन चलाउन आवश्यक छ” उहाँले भन्नुभयो, “पुलको अवस्थाबारे थाहा नभएका र तीव्र गतिमा सवारीसाधन चलाउनेका लागि पुल धराप जस्तै छ ।” 

नदीले पुलको पहुँचमार्ग कटान गरेपछि फलामको साँघु बनाएर साइकल, मोटरसाइकल ओहोरदोहोर गराउने गरिएको छ । नदीले पूर्वतिर धार परिवर्तन गरेपछि कटान भ जोखिम निम्तिएको जनाइएको छ । कटान नियन्त्रणका लागि ठुलो लगानीको तटबन्ध आवश्यक पर्ने कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो । 

उहाँले गाउँपालिकाको बजेटले कटान नियन्त्रण सम्भव नरहेको उल्लेख गर्दै थप्नुभयो, “हामीले प्रदेश सरकारलाई आग्रह गरेका थियौं । तर, सुनुवाइ भएन ।” सो पुलको पूर्वतर्फको पहुँचमार्गको जमिन कटान हुन थालेपछि विगतमा टालटुल पार्ने काम गरिएको थियो । तर, यसवर्ष आएको बाढीले बढी कटान गरेका कारण साँघु बनाएर ओहोरदोहोर गर्ने गरिएको छ ।