धनगढी समाचारदाता
धनगढी, फागुन १४ गते । विश्वको एक ठुलो प्राविधिक कम्पनी गुगल (सर्च इन्जिन) मा सफ्टवेयर इन्जिनियरको पूर्णकालीन जागिर पाएपछि थारू चेली आयशा चौधरीको चौतर्फी प्रशंसा भइरहेको छ । कमैले पाउने अवसर कञ्चनपुरको बेलौरी नगरपालिका–४ की उहाँले ठुलो सफलता प्राप्त गरेको भन्दै विभिन्न विद्यालयले आयशालाई सम्मान गरिरहेका छन् । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत उहाँको सफलताको चर्चा भएको छ ।
भारतको हिमाञ्चलस्थित चित्कारा युनिभर्सिटीमा ब्याचलर्स इन कम्प्युटर साइन्समा इन्जिनियरिङ अध्ययन गरिरहनुभएकी चौधरीले गुगलमा इन्टर्नसिपपछि सफ्टवेयर इन्जिनिरिङका रूपमा पूर्णकालीन जागिर पाउनुभएको छ । आठौँ सेमेस्टरमा अध्ययनरत चौधरीले आफू कलेज अध्ययनको दोस्रो वर्षदेखि नै गुगलमा इन्टर्नसिपका लागि प्रयास गरेको बताउनुभयो । उहाँले तेस्रो वर्षमा मात्रै इन्टर्नसिप पाएको बताउनुभयो । उहाँले थप्नुभयो, “त्यो पूरा भएपछि अहिले पूर्णकालीन जागिर पाएँ । मेरो कलेजबाट जागिर पाउने म एक्ली हुँ ।”
कक्षा ८ अध्ययनको बेला नै सफ्टवेर इन्जिनियरिङका बारेमा सुनेको चौधरीको भनाइ छ । त्योबेला नै सूचना प्रविधि (आइटी) क्षेत्रमा लाग्ने अठोट गरेकाले यसप्रति रुचि बढ्दै जाँदा सफलता पाएको उहाँले उल्लेख गर्नुभयो । प्लस टु अध्ययनको बेलामै यस क्षेत्रमा प्रेरणा मिलेको उहाँले उल्लेख गर्नुभयो । चौधरीले भन्नुभयो, “गुगलमा काम गर्छु भन्ने सपना बुनेँ । मलाई यो जसरी नि पूरा गर्नु छ भन्ने सोच बनाएर त्यही रोड म्याप फलो गरेँ । आज यो उपलब्धि प्राप्त भयो ।” चौधरीले आफ्नो सफलताको श्रेय दाइ सौरभ, आमाबुवा र शिक्षक तथा साथीलाई दिनुभएको छ । ब्याचलर्स पढ्ने बेला दाइले धेरै सहयोग गरेको आयशाले सुनाउनुभयो । “मलाई यहाँसम्म पु¥याउन दाइको ठुलो हात छ किनकि उहाँ पनि यही क्षेत्रमा काम गरिरहनुभएको छ । उहाँबाट म प्रभावित थिएँ ।”
आयशाको दाइ सौरभले कम्प्युटर साइन्समा इन्जिनियरिङ गर्नुभएको छ । उहाँ पाँच वर्षदेखि भारतको बैङ्गलोरमा आइटी क्षेत्रमै काम गरिरहनुभएको छ । गुगल सबैका लागि सपनाको कम्पनी रहेको उल्लेख गर्दै सौरभले भन्नुभयो, “प्री प्लेसमेन्ट अफर (पिपिओ) पाउनलाई आयशाले धेरै मेहनत गरेकी थिइन् । त्यो नपाउँदा खेरी सुरुमा निराश पनि भइन् तर हिम्मत नहारेकाले अहिले सफलता प्राप्त भएको छ । हामी सबै खुसी छौँ ।” बहिनीले गुगलमा काम पाओस् भनेर सुरुदेखिको चाहना रहेको जनाउँदै सौरभले त्यो चाहना पूरा भएको बताउनुभयो ।
आयशाका आमाबुवाले बेलौरीमा व्यवसाय गर्दै आउनुभएको छ । आफूलाई कम्प्युटरको ज्ञान नभएका कारण छोराछोरीलाई कम्प्युटरमा पोख्त बनाउने उहाँको सपना थियो । समय अनुसार बुनेको सपना आज आएर विपनामा परिणत भएपछि निकै खुसी लागेको बुवा लक्ष्मीनारायणले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्प्युटर इन्जिनियर बनाउने सपना पूरा भएको छ । हामी खुसी छौँ ।” बेलौरीकै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेकी आयशाले काठमाडौँको किस्ट कलेजबाट प्लस टु पास गर्नुभएको थियो । त्यसपछि चित्कारा युनिभर्सिटीमा गएको उहाँको भनाइ छ । अब सम्भवतः ग्राजुएसनपछि कम्पनीमा जोडिने आयशाले बताउनुभयो ।