लीलाराज खड्का
बिर्तामोड, फागुन १४ गते । झापामा 'पैसा देखाएर' ठगी गर्ने गिरोहका ६ भारतीय र एक नेपालीसहित सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीले शङ्का लागि नियन्त्रणमा लिएको उक्त गिरोहलाई बुधबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
भद्रपुर नगरपालिका–८ घोडामारास्थित एयरपोर्ट सडकखण्डमा मङ्गलबार साँझ सशस्त्र प्रहरी बल नेपाल नं. २ हेडक्वार्टर गणले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधनमा 'प्रेस' लेखेर हिँडिरहेको उक्त समूहले जिल्लामा वित्तीय ठगी गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गालका अरिन्दम धर (४५), दीपा भौमिक (३६), सुमन सरकार (३५), नुर कलाम शेख (३७), अबेद अली होसैन (५२), फारुक अज्मी (२०) र झापाको कमल गाउँपालिका–६ का देवेन्द्र सापकोटा (४३) रहेका छन् ।
ठगी गर्ने अनौठो शैली
प्रहरीका अनुसार यो गिरोहले नोट आकारका सादा कागजको बन्डल बनाई त्यसको माथि र तल सक्कली नोट राखेर भिडियो बनाउने र व्यापारीहरूलाई पठाउने गरेको थियो । मेचीनगर नगरपालिका–४ स्थित लुकाइराखेको अवस्थामा २१ वटा टिनका बाक्सा र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरिएको छ । उक्त कागजको बन्डललाई गिरोहले नेपाली १२ करोड रुपैयाँ बराबरको अनुमानित 'स्टमेट' गरी तयार पारेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरूले ठुलो रकम कानुनी अड्चनका कारण जफत भएको र जरिवाना बुझाउन पैसा आवश्यक परेको भन्दै नक्कली भिडियो र सरकारी पत्र देखाएर व्यापारीहरूलाई ठग्ने योजना बनाएका थिए। कागजातलाई विश्वासिलो बनाउन उनीहरूले नोटरीबाट प्रमाणित गराउने उद्देश्यले काँकडभिट्टा नाका हुँदै चन्द्रगढी आएको खुलेको छ ।

प्रहरीले उनीहरूका साथबाट 'प्रेस' लेखिएको गाडीसहित डब्लुबी ०६ यु ३००६ (बालेनो) र डब्लुबी ०६ एक्स ०३०० (फर्च्युनर) गाडी बरामद गरेको छ । साथै, नेपाल सरकारको निशाना छाप प्रयोग गरिएका नक्कली कागजात, कर चुक्ता प्रमाणपत्र, भन्सारसम्बन्धी कागज, नक्कली प्रहरी परिचयपत्र, स्ट्याम्प प्याड र विभिन्न मोबाइल फोनहरू फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले यस समूहबाट ठगीमा परेका व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत 'लिखतसम्बन्धी कसुर' मा अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।