• १४ फागुन २०८२, बिहिबार

किमको दोहोरो सन्देशः धम्की र संवाद

blog

उत्तर कोरियाली नेता किम जोङ उन ।

सियोल, फागुन १४ गते । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा खतरा भए आफ्नो देशले दक्षिणलाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने चेतावनी दिनु भएको छ । तर त्यससँगै उहाँले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि ढोका खुला रहेको सङ्केत पनि दिनु भएको छ । 

यसले प्योङयाङको रणनीतिमा दबाब र संवाद दुवैलाई समानान्तर अघि बढाउने सन्देश दिएको छ । सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनको समापन गर्दै किमले आगामी पाँच वर्षका नीतिगत लक्ष्य सार्वजनिक गर्नुभयो । उहाँले आफ्नो आणविक क्षमता र नयाँ हतियार प्रणाली विकासलाई तीव्र बनाउने घोषणा गर्दै पानीमुनिबाट प्रक्षेपण गर्न सकिने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल, सामरिक आणविक हतियार र छोटो दूरीका क्षेप्यास्त्रको भण्डार विस्तार गर्ने लक्ष्य प्रस्तुत गर्नुभयो । 

उहाँका अनुसार पछिल्ला वर्षमा भएको तीव्र हतियार विकासले उत्तर कोरियाको आणविक राष्ट्रको हैसियत ‘स्थायीरूपमा स्थापित’ गरिसकेको छ । यद्यपि किमले अमेरिकाले उत्तरप्रति अपनाएको ‘शत्रुतापूर्ण नीति’ त्यागेमा संवाद सम्भव रहेको बताउनुभयो । “शान्तिपूर्ण सहअस्तित्व होस् वा स्थायी द्वन्द्व, हामी दुवैका लागि तयार छौँ”, उहाँले भन्नुभयो, “छनोट अमेरिकाको हातमा छ ।” उत्तर कोरियाले लामो समयदेखि अमेरिकी प्रतिबन्ध र आणविक निशस्त्रीकरणको मागलाई ‘शत्रुतापूर्ण नीति’ का रूपमा व्याख्या गर्दै आएको छ ।

विश्लेषकका अनुसार किमको दक्षिणप्रति कडा भाषण प्रत्यक्ष युद्धको सङ्केतभन्दा बढी आफ्नो क्षेत्रीय प्रभाव र शक्ति दाबी गर्ने प्रयास हो । मस्को र बेइजिङसँग नजिकिँदो सम्बन्ध तथा बढ्दो आणविक शस्त्रागारको पृष्ठभूमिमा उहाँले सियोलसँगको कूटनीति लगभग अस्वीकार गरिसक्नु भएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने प्योङयाङले सम्बन्धलाई निरन्तर शत्रुतापूर्ण रूपमा चित्रण गरिरहेकोप्रति खेद व्यक्त गर्दै शान्ति स्थापनाका प्रयास धैर्यपूर्वक जारी राख्ने जनाएको छ ।

सम्मेलनपछि राजधानी प्योङयाङमा सैन्य परेड गरिएको सरकारी समाचार एजेन्सीले जनाएको छ । करिब १३ वर्षीया छोरी किम जु एसँग परेड अवलोकन गर्दै किमले आफ्नो सेना कुनै पनि शत्रुतापूर्ण खतरा विरुद्ध ‘तुरुन्त र पूर्ण बदला’ लिन सक्षम रहेको दाबी गर्नुभयो । यद्यपि सबैभन्दा शक्तिशाली हतियार प्रदर्शन गरिएको विषयमा तत्काल विवरण सार्वजनिक गरिएको छैन ।

किमले सन् २०२४ यता दक्षिणसँगको शान्तिपूर्ण पुनर्मिलनको पुरानो लक्ष्य औपचारिक रूपमा त्याग्दै दक्षिणलाई स्थायी शत्रु घोषणा गर्नु भएको छ । उहाँले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको संवाद प्रस्तावलाई ‘छल’ भन्दै अस्वीकार गर्नुभयो र उत्तरले दक्षिणलाई साझा राष्ट्रको अवधारणाबाट ‘स्थायी रूपमा अलग’ गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार दक्षिणले आफूलाई नउक्साए सुरक्षित रूपमा बस्न सक्ने छ ।

यसैबिच, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबिच हुने वार्षिक संयुक्त सैन्य अभ्यासले अर्को महिना तनाव थप बढ्न सक्ने देखिन्छ । प्योङयाङले यस्ता अभ्यासलाई आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै प्रायः आफ्ना हतियार परीक्षण तीव्र पार्ने गरेको छ । पछिल्ला वर्षमा उत्तर कोरियाले ठोस इन्धनयुक्त आइसिबिएम, सामरिक आणविक प्रणाली र कथित हाइपरसोनिक हतियार परीक्षण गरेको छ ।

सन् २०२३ मा पहिलो सैन्य उपग्रह प्रक्षेपण गरेको दाबी गरिएको थियो भने आणविक ऊर्जाचालित पनडुब्बी निर्माणमा प्रगति भएको पनि जनाएको छ । नयाँ लक्ष्य अन्तर्गत किमले कृत्रिम बौद्धिकता (एआई) युक्त आक्रमण ड्रोन, उन्नत जासुसी उपग्रह र इलेक्ट्रोनिक युद्ध क्षमता विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो ।

यसरी, प्योङयाङले एकातिर सैन्य शक्ति प्रदर्शन गर्दै दक्षिणप्रति कठोर अडान दोहोर्याएको छ भने अर्कोतिर वासिङ्टनसँग सर्तसहित संवादको सम्भावना खुला राखेको छ । किमको यो दोहोरो सन्देशले कोरियाली प्रायद्वीपमा तनाव र कूटनीति सँगसँगै अघि बढ्ने सङ्केत दिएको विश्लेषण गरिएको छ । रासस/एपी