• १४ फागुन २०८२, बिहिबार

झापा–५ मा अध्यक्ष ओलीको घरदैलो : विकास र भूमिसम्बन्धी समस्या समाधान गर्ने आश्वासन

blog

मतदातासँग नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ।

दमक, फागुन १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित रहनुभएका अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दै निर्वाचनपछि देश सम्हाल्न एमाले तयार रहेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास र समृद्धिका लागि एमालेले निर्वाह गरेको भूमिकाका कारण जनताले आफ्नो पार्टीलाई चाहेको दाबी गर्नुभयो ।

घरदैलोका क्रममा बिहीबार कमल–५ स्थित सिम्ले पुग्नुभएका ओलीलाई स्थानीयवासीले भूमिसम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका छन् । सडक तथा पुल निर्माण भएपछि जनजीवन सहज भए पनि अझैसम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको भन्दै स्थानीयले उहाँको ध्यानाकर्षण गराएका थिए ।

उहाँ कमल–३ को सानो केर्खा पुग्दा स्थानीयले किरातेश्वर तथा वाल्मीकि आश्रम र सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिदिन माग गरेका थिए । यस्ता क्षेत्रहरूको पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय स्थल बनाउन सकिने स्थानीयको भनाइ  छ।

आफ्नो गृह निर्वाचन क्षेत्रमा केन्द्रित रहनुभएका ओली कमल–५ को झारबारीमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा समेत सहभागी हुनुभएको थियो । केही दिनयता उहाँले निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।