प्रवीणकुमार शर्मा
रौतहट, फागुन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा मतदाता स्वयं सचेत रहेकाले आफूले धेरै भन्नु नपर्ने बताउनुभएको छ ।
बुधबार राति रौतहटको चन्द्रनिगाहपुरमा आम मतदाता, शुभचिन्तक तथा सर्वसाधारणलाई सम्बोधन गर्दै सभापति लामिछानेले भन्नुभयो, "तपाईं मतदाता सबै कुरा बुझ्नुभएको छ, त्यसैले मैले अहिले केही भनिरहनु पर्दैन । जनतालाई सबै थाहा छ ।" उहाँले सबैको जय होस् भन्दै घण्टीको जयजयकारका साथ आफ्नो मन्तव्य संक्षिप्त रूपमा टुङ्ग्याउनुभएको थियो ।
सर्लाहीको कार्यक्रम सकेर राति १० बजे चन्द्रनिगाहपुर आइपुग्नुभएका लामिछानेले समर्थकको मायाका कारण आउँदाआउँदै रात परेको बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा गाडीबाटै संक्षिप्त सम्बोधन गरेर फर्किनुभएको स्थानीय पूजा झाले जानकारी दिनुभयो ।
सभापति लामिछानेलाई पर्खिन रास्वपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू साँझदेखि नै चन्द्रनिगाहपुर चोकमा जम्मा भएका थिए ।