जनार्जन खत्री
सर्लाही, फागुन १४ गते । सुक्खायाममा चुनावी माहोल जति तातिँदै गइरहेको छ, सर्लाहीको उत्तरी चुरेवर्ती क्षेत्रमा खानेपानीको समस्या उत्तिनै बढ्दो छ ।
भौगोलिक रुपमा विकट रहेका चुरेवर्ती क्षेत्रमा हरेक वर्ष फागुन÷चैतदेखि झमझम झरी पर्ने याम नआउँदासम्म खानेपानीको दुःख हुन्छ । चुरेवर्ती क्षेत्रमा अहिले मत मान्दै घरदैलोमा आउने उम्मेदवारलाई गाग्रोबाट सारेर दिने पानीसमेत नरहेको स्थानीयले गुनासो गरेका छन् ।
सर्लाहीको क्षेत्र नं. १ मा पर्ने ईश्वरपुर नगरपालिका १२, लालबन्दी नगरपालिका १२, १३, १४ र १५ तथा क्षेत्र नं. ३ मा पर्ने हरिवन नगरपालिका १ र बागमती नगरपालिका १ मा हिउँदयामभर खानेपानीको हाहाकार मच्चने गरेको छ । वर्षायाममा भीर, पाखाका जरुवा र खोला किनारका कुवामा पानी रसाउने गरे पनि हिउँद लागेपछि भने सुक्ने गरेको स्थानीयले बताएका छन् ।
लालबन्दी नगरपालिका–१५, झरझरा डाँडाका विष्णु केसीले हिउँदका चार/पाँच महिना पिउने पानीको असाध्य अभाव हुने गुनासो पोख्नुहुन्छ । “अब त असार, साउन नलाग्दासम्म खानेपानी खोज्दै खोलाखोला हिँड्नुपर्छ,” केसीले भन्नुभयो, “हामीलाई अहिले चुनाव भन्दा पनि खानेपानीको चिन्ताले सताउन थालिसकेको छ ।”
चुरेवर्ती विकट डाँडापाखामा बसोबास गर्ने कतिपय स्थानीयकहाँ उम्मेदवारहरु मत माग्न समेत पुग्दैनन् । तल चौरतिर वा पार्टीका अगुवा कार्यकर्ताको घरमा भेला भएर भोज, भतेर गरी मत माग्ने गरिए पनि डाँडाकाँडामा चारैतिर रहेका घरहरुमा मत माग्न उम्मेदवार नै नआउने केसीले बताउनुभयो ।
एक/दुई जना उम्मेदवारबाहेक अधिकांश मत माग्न नै नआउने गरेकाले खानेपानी, सडकजस्ता समस्या सुनाउनै नपाएको स्थानीयको गुनासो छ । ईश्वरपुर नगरपालिका–१२, शीस्नेखर्कका सोभितमान थिङले बारम्बार चुनाव आए पनि गाउँमा खानेपानी र सडक आउन नसकेको दुःखेसो पोख्नुभयो ।
अहिले चुनावको समयमा अनेक आश्वासन दिएर उम्मेदवारहरु आए पनि जितेपछि फर्किएर नआउने गरेका थिङको गुनासो छ । उहाँले भन्नुभयो, “अहिले दिनैपिच्छेजसो उम्मेदवार र उनीहरुका कार्यकर्ताहरु भोट हाल्नुपर्छ है भन्दै फकाउन आइरहेका छन् तर चुनाव जितेपछि हाम्रो यो विकट ठाउँमा कोही पनि फर्किएर आउँदैनन् ।”
जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेवर्ती क्षेत्रमा पहिलेको तुलनामा स्थानीय तह, प्रदेश सरकार र दातृ निकायले केही बस्तीहरुमा खानेपानी पुर्याए पनि छरिएर रहेका सबै घरधुरीमा खानेपानीको पहुँच पुग्न सकेको छैन । मुलुक प्रतिनिधि सभा सदस्य चुनावमय भइरहेको समयमा यहाँका वासिन्दाले खानेपानीको माग प्रमुख रुपमा अघि सारेका छन् ।
बागमती नगरपालिका १ का वृषबहादुर बोम्जनले हिउँदका केही महिना नगरपालिकाले ट्याङकरमा ल्याएर पानी वितरण गरे पनि पर्याप्त नरहेको बताउनुभयो । एक गाग्रो पानीका लागि अब हिउँदयामभर खोला, खोल्सी चाहार्नुको विकल्प नै नहुने उहाँको दुःखेसो छ ।
पानीको अभावले वस्तुभाउ पाल्न र सरसफाई गर्नसमेत मुस्किल रहेको बोम्जनले गुनासो गर्नुभयो । “हाम्रोतिर जति सुक्खा बढ्दै गयो, उत्तिनै खानेपानीको सङ्कट बढ्दै जान्छ,” बोम्जनले भन्नुभयो, “मान्छेले त एक/दुई गाग्रो पानी खोजेर खान्छौँ तर वस्तुभाउलाई पुर्याउनै गाह्रो छ ।”
चुरेभेगमा खानेपानीको जोहो गर्न खोला, खोल्सा धाउनुपर्ने र घण्टौँसम्म डोको लगाएर बोक्नुपर्ने बाध्यताले गृहणी हैरान छन् । खानेपानीको जोहो गर्दा बिहान बित्ने गरेको उनीहरुको गुनासो छ ।
मुलुक चुनावमय बन्दै जाँदा मरिण–बागमती सिँचाई आयोजनाको पानी चुरेवर्ती क्षेत्रहुँदै ल्याउन सके यस भेगमा खानेपानी र सिँचाईको समस्या धेरै हदसम्म कम गर्न सकिने स्थानीयको आश छ ।