• १४ फागुन २०८२, बिहिबार

निर्वाचन लक्षित मदिरा बिक्री तथा सेवनमा रोक

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १४ गते ।
जिल्ला प्रशासन कार्यालय सप्तरीलेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गतेबाट मदिरा बिक्री एवम् सेवन गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले एक सूचना जारी गरी फागुन १८ गते राति ७ बजेबाट मदिरा बिक्री एवम् सेवनमा रोक लगाउनुभएको हो ।

“फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम फागुन १८ गते साँझ ७ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री बितरण एवं सेवनमा रोक लगाइएको छ ।” जारी सूचनामा उल्लेख छ ।

यस्तै, जिल्ला प्रशासनले जारि गरेको अर्को सूचनामा निर्वाचनका दिन फागुन २१ गते बिहान ५ देखि साँझ ७ बजेसम्म एम्बुलेन्स, दमकल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधन बाहेक अन्य सार्वजनिक र निजी सम्पूर्ण यातायातका साधनहरु बन्द रहने जनाइएको छ ।