रमेश विश्वकर्मा
गुल्मी, फागुन १४ गते। गुल्मीमा सशस्त्र प्रहरी बलले मोटरसाइल गस्ती सुरु गरेको छ। सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईंका अनुसार फागुन १८ गतेको फागु पूर्णिमा र २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मोटरसाइल गस्ती सुरु गरिएको हो। यससँगै निर्वाचन सुरक्षार्थ निर्वाचनमा खटिने क्विक रेस्पोन्स टिमको अभ्यास पनि गरिएको हो।
सहायक प्रहरी निरीक्षक सुदीप अधिकारीको कमाण्डमा १/२० नफ्री मोटरसाइकल गस्ती र निर्वाचनपूर्व अभ्यास गरिएको उहाँले बताउनुभयो। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उदेश्यसहित मोटरसाइकल गस्ती गरिएको हो। आम–नागरिकलाई सुरक्षाको प्रत्याभूत दिलाउनुका साथै सम्भावित जोखिम न्यूनीकरण, सुरक्षा सतर्कता अभिवृद्धि तथा आम–नागरिकमा सचेतना फैलाउनका लागि गस्ती गरिएको हो। मोटरसाइकल गस्तीलाई जिल्लाका विभिन्न संवेदनशील स्थान शहरदेखि गाउँसम्म पुर्याइने बताइएको छ।
यता, संयुक्त सुरक्षा गस्तीलाई पनि तीव्र पारिएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको टोली संयुक्त सुरक्षा गस्तीमा पनि परिचालित रहेको छ। यस जिल्लामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन्। त्यसैगरी सुरक्षा संवेदनशीलता अनुसार ४८ मतदानस्थल अतिसंवेदनशील, ५७ मतदानस्थल संवेदनशील र ४० मतदानस्थल सामान्य सूचीमा रहेका छन्। एक अस्थायी मतदान केन्द्र रहेको छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता छन्।
जसमा महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना रहेका छन्। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि यस जिल्लामा तीन वटै सुरक्षा निकायहरुबीच प्रभावकारी समन्वय तथा छलफल हुनुका साथै सरोकारवालाहरुसँग निरन्तर समन्वय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो। मतदानस्थलहरुको निरन्तर निरीक्षण तथा अनुगमन भइरहेको भन्दै उहाँले तीन तहको सुरक्षाको प्रबन्ध मिलाइएको बताउनुभयो।