विनय कर्ण
कल्याणपुर (सप्तरी) फागुन १४ गते । चारैतिर कोशी नदीले घेरिएको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १३ स्थित पर्ने गोबरगाढा गाउँमा मतदाताहरू उत्साहित भएका छन् ।
भारतीय सीमासँग जोडिएको र चारैतिर कोशीको भङ्गालोले घेरिएको गाउँ गोबरगाढामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले सुरक्षा निगरानी बढाउँदै लगेपछि त्यहाँका मतदाताहरू उत्साहित भएका हुन् ।
डुङ्गा चढेर विकट गाउँ गोबरगाढामा पुग्दै आएका नेपाली सेनाको बरखगण, सशस्त्र र नेपाल प्रहरीको टोली फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा गस्ती कडा बनाइएपछि स्थानिय मतदाताहरू निकै उत्साहित भएको राजविराज स्थित बरखगणका गणपती प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।
त्यहाँका स्थानिय मतदाताहरू प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउनमा हर सम्भव सहयोग गर्न तयार रहेकोले शान्तिपुर्ण, भयरहित र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
भारतीय सीमासँग जोडिएको तथा संवेदनशील र अतिसंवेदनशील सुचीमा परेका मतदान स्थलहरूमा सशस्त्र र नेपाल प्रहरीको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख सेनानी चन्दको भनाइ छ ।
गोबरगाढको मतदान स्थलमा सुरक्षाकर्मी, निर्वाचन कर्मचारी, मत्रपत्र र मतपेटिका समेत डुङ्गाकै माध्यमबाट ओसारपसार गर्नुपर्ने बाध्यता छ ।
चारैतीर कोशी नदीको भङ्गालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुङ्गा चढी सेना र प्रहरीको संयुक्त टोली गस्ती गर्न थालेपछि स्थानीयवासी निर्वाचन सुरक्षालाई लिएर उत्साहित बनेको बताउनुभयो ।
विकट गाउँ गोबरगाढामा सुरक्षा निगरानी बढाइएपछि शान्तीपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने स्थानिय ३२ वर्षीय राम अवतार सदा बताउनुहुन्छ ।
सप्तरीमा स्थायी २९६ र अस्थायी २ गरी जम्मा २९८ मतदान स्थल रहेकोमा त्यसमध्ये २०९ अति सम्वेदनशील, ८३ मतदान स्थल सम्वेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।