राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन १४ गते । जय मातृभूमि पार्टीबाट स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार कर्नेल धनबहादुर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई समर्थन गरेको घोषणा गर्नुभएको छ।
उम्मेदवार थापाले अहिलेको निर्वाचन सामान्य नभएको भन्दै गम्भीर रूपमा लाग्नु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो कि आफू उम्मेदवार रहँदा देशलाई आवश्यक पर्ने पार्टीको मत टुक्रिने खतरा थियो, त्यसैले युवा नेता मल्ललाई सघाउने निर्णय गर्नुभएको हो।
थापाले वर्तमान चुनावले देशमा स्थिरता ल्याउनुपर्ने अवस्थामा रहेको भन्दै कांग्रेस मात्र देशको अवस्थालाई सुधार गर्न सक्षम रहेको दाबी गर्नुभयो। “देश विषम परिस्थितिमा छ। यसबाट पार लगाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ, त्यसैले साथीहरूसँग सल्लाह गरेर समर्थन गर्ने निर्णय गरेका हौं,” उहाँले बताउनुभयो।
जय मातृभूमि पार्टीका संस्थापक लक्ष्मीकान्त पाण्डेले जानकारी दिनुभयो कि नेपाल, भारत तथा अन्य देशबाट सेवानिवृत्त आर्मी, प्रहरी र अन्यले मिलेर पार्टी स्थापना गरेको हो। थापाले सल्लाह गरेर मात्रै कांग्रेसका मल्ललाई समर्थन गर्ने निर्णय गरेको उहाँको भनाइ छ।
स्याङ्जा क्षेत्र नं. २ मा मात्र पाँच हजारभन्दा बढी जय मातृभूमि पार्टीका शुभेच्छुक रहेको थापाले जानकारी दिनुभयो। उहाँले सबैजनाले कांग्रेसका मल्ललाई समर्थन गर्दै रुख चिन्हमा मतदान गर्ने स्पष्ट पार्न आग्रह गर्नुभयो।
यस क्षेत्रमा प्रभाव राख्ने जनजाति उम्मेदवार थापाले नै कांग्रेसका मल्ललाई समर्थन गरेपछि कांग्रेसलाई सहज भएको स्याङ्जा क्षेत्र नं. २ का सभापति दिलिपप्रताप खाँणले जानकारी दिनुभयो। “थापाको समर्थनले हामीलाई अझ उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो।