• १३ फागुन २०८२, बुधबार

सप्तरी ३ का उम्मेदवारलाई मतदाताको प्रश्न: ‘किन यति चाँडै भोट माग्न आउनुभयो ?’

blog

प्रचारप्रसारमा दिनेशकुमार यादव । तस्बिरः विनय कर्ण

विनय कर्ण

कल्याणपुर(सप्तरी), फागुन १३ गते । नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिनेशकुमार यादवले परिस्थितिवश चाँडै भोट माग्न आउनु परेको भन्दै मतदातालाई स्पष्टीकरण दिइरहनुभएको छ ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित उहाँले पाँच वर्षका लागि मत दिएर पठाएको भए पनि राजनीतिक घटनाक्रमले गर्दा बिचमै निर्वाचनमा होमिनुपरेको अवस्थाबारे जनतालाई बुझाउनु परेको बताउनुभयो । चुनाव प्रचारप्रसारका क्रममा बुधबार राजगढ गाउँपालिका–१ मा पुग्नुभएका यादवले विगतमा गरेका वाचा र अधुरा योजना पूरा गर्न आफूलाई पुनः अवसर दिनुपर्ने भन्दै घरदैलो गरिरहनुभएको छ ।

"तपाईंलाई पाँच वर्षका लागि जिताएर पठाएको, किन यति चाँडै भोट माग्न आउनुभयो भनेर जनताले प्रश्न गर्नुहुन्छ," यादवले भन्नुभयो, "तपाईंको मतले म सांसद भएँ, क्षेत्रको विकासका कुरा उठाएँ तर देशको राजनीतिक परिस्थिति र संसद् विघटनका कारण कार्यकाल पूरा गर्न सकिनँ भन्दै मतदातालाई जवाफ दिइरहेको छु ।"

अहिलेको चुनाव 'बेमौसमको' भए पनि देशको परिस्थितिका कारण भाग लिनुको विकल्प नरहेको उहाँको भनाइ छ । सप्तरी ३ मा शम्भुनाथ–बनैनियाँ सडक, पातो–कठौना सडक र रुपनी–छिन्नमस्ता सडक निर्माण गर्ने लगायतका वाचा पूरा गर्न आफूले जित्नुपर्ने दाबी उहाँले गर्नुभयो ।

२०६४ सालदेखि लगातार कांग्रेसबाट उम्मेदवार बन्दै आउनुभएका यादव २०७९ को निर्वाचनमा २६ हजार १६६ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गर्नुभएको थियो ।

यसपटक यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) बाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरकान्त चौधरी र नेपाली कम्युनिस्ट  पार्टीबाट अरुणकुमार साह लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा कुल १ लाख ११ हजार ८७१ मतदाता रहेका छन् ।