• १८ चैत २०८२, बुधबार

विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग

blog

विद्यालयलाई सिसिटिभी सहयोग गरिँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, चैत १८ गते।
सल्यानको दार्मा गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सिसिटिभी क्यामरा जडान गरिएको छ। यसले विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री बनाउँदै सुरक्षा र अनुशासनमा सुधार ल्याउने उद्देश्य राखिएको छ।

दार्मा गाउँपालिका–२ का स्थायी बासिन्दा तथा सूर्यज्योति लाइफ इन्स्योरेन्स, सल्यान शाखा प्रमुख भरत रोकाय र सलिको इन्स्योरेन्स, सल्यानका राजेश कुमार घर्तीले संयुक्त रूपमा क्यामरा सहयोग गर्नुभएको हो।

विद्यालय परिसरमा जडान गरिएको क्यामराले विद्यार्थी सुरक्षा, अनुशासन र समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने विश्वास गरिएको छ। यसले विद्यालयभित्र हुने गतिविधिहरूको प्रभावकारी निगरानीमा सहयोग पुर्‍याउने र शिक्षक, अभिभावक तथा विद्यार्थीमा सुरक्षित र जिम्मेवार वातावरणको अनुभूति गराउने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

क्यामरा सहयोग कार्यक्रममा सहयोगदाता भरत रोकायलाई विद्यालय परिवारले सम्मान गरेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र परियार र प्रधानाध्यापक देवेन्द्र चन्दले दोसल्ला ओढाएर तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो। अध्यक्ष परियारले यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू विद्यालयको विकासमा प्रेरणादायी भएको बताउनुभयो।

सम्मान ग्रहणपछि रोकायले जन्मभूमिको शैक्षिक विकासमा सानो योगदान दिन पाउँदा खुशी लागेको व्यक्त गर्दै, आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सहयोगदाताप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सकारात्मक कार्यहरूले समाजमा उदाहरणीय सन्देश दिने बताए।

विद्यालयले सहयोगदाताप्रति धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको जनाएको छ। ग्रामीण क्षेत्रमा शिक्षा सुधार र प्रविधिको पहुँच विस्तारमा यस्ता सहयोगले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।