राजन रावत
हुम्ला, चैत १८ गते । हिमाली जिल्ला हुम्लामा वनजडिबुटी व्यवस्थापनका लागि पाँचवर्षीय कार्ययोजना बन्ने भएपछि व्यवसायीहरू खुसी भएका छन्। कार्ययोजना नहुँदा सङ्कलन गरिएको जडिबुटी निकासी गर्न अन्य जिल्लाको छुट पुर्जी लिनुपर्ने र कुहिन लागेको समस्या आएको थियो। नयाँ कार्ययोजना निर्माण निश्चित भएपछि व्यापारीहरूले राहत महसुस गरेका छन्।
हुम्ला डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले आगामी वैशाखको अन्तिम हप्तासम्म कार्ययोजना तयार हुने र यसले धेरै समस्याको समाधान गर्ने जानकारी दिनुभयो। कार्ययोजना तयार हुन १२ लाख रुपियाँको बजेट व्यवस्था गरिएको छ।
कार्ययोजना लागू भएपछि नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइनेछ र हालको निकासी समस्या समाधान हुनेछ। प्रमुख जडिबुटी जटामासीको मात्र वार्षिक तीन लाख ४० हजार केजी निकासी हुने व्यवस्था हुनेछ। त्यसैगरी अन्य ५० भन्दा बढी जडिबुटीको निकासीसमेत व्यवस्थित हुने बताइएको छ।
जडिबुटी व्यवसायी संघ हुम्लाका अध्यक्ष राजबहादुर शाहीले कार्ययोजना निर्माण भएपछि व्यवसायीहरूलाई सहजता मिल्ने भएकाले उत्साहित भएको बताए। पाँचवर्षीय कार्ययोजना निर्माणको जिम्मेवारी पाएको नेचुरल रिसोर्सेस एन्ड इन्भारोमेन्टल म्यानेजमेन्ट सेन्टर प्रालिले राय, सल्लाह र सुझाव सङ्कलन गर्ने कार्यक्रम पनि आयोजना गरेको छ।
कार्यक्रममा प्राविधिक डा. नागेन्द्र यादवको टोली जिल्लामा आएको थियो। व्यवसायी छिरिङ लामाले यस वर्ष किसानले सङ्कलन गरेको जटामासी र कुट्कीको निकासी छुट पुर्जी नपाएपछि छिमेकी जिल्लाबाट लिएर काम चलाउनुपरेको बताउनुभयो। यस कारण पचासदेखि साठी क्विन्टल जडिबुटी सुरक्षित तरिकाले निकासी गर्नुपरेको र धेरैको लगानी डुबेको गुनासो व्यवसायीहरूले गरेका छन्।