• १८ चैत २०८२, बुधबार

अनोमा घाटः सुस्ता बौद्ध धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

blog

अनोमा घाटमा बौद्ध धर्मावलम्बी र पर्यटकहरू । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १८ गते।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक स्थल अनोमा घाट (त्रिवेणी सुस्ता) पछिल्लो समय बौद्ध धर्मावलम्बी र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजदरबार त्याग गरी गृहत्याग गरेपछि पहिलो पटक प्रवज्या (दीक्षा) लिएको यस स्थलले विस्तारै अन्तर्राष्ट्रिय महत्त्व पाउन थालेको हो।

लुम्बिनी र कपिलवस्तु जस्ता स्थापित बुद्धकालीन स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू अहिले अनोमा नदी किनारमा बुद्धको महाभिनिष्क्रमण स्थल खोज्दै सुस्ता पुग्न थालेका छन्। बौद्ध धर्मशास्त्र अनुसार, राजकुमार सिद्धार्थले यही अनोमा नदीको किनारमा आफ्नो कपाल मुण्डन गरी भिक्षु जीवनको सुरुवात गर्नुभएको थियो। बुद्धत्व प्राप्तिको यात्रा सुरु भएको पहिलो बिन्दु भएकाले यसको आध्यात्मिक महत्त्व अत्यधिक रहेको बौद्ध विद्वानहरू बताउँछन्।

पछिल्ला वर्षमा यस क्षेत्रमा विभिन्न बौद्ध विहारको निर्माण र संरक्षणका प्रयासहरू सुरु भएपछि पर्यटक आगमनमा वृद्धि भएको हो। अनोमा नेपाल जस्ता संस्थाहरूको सक्रियताले पश्चिम नवलपरासीका ओझेलमा रहेका बुद्धकालीन स्थलहरूलाई नयाँ जीवन दिएको छ।

रूपन्देहीको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका भिक्षु, भिक्षुणी र उपासकहरूको टोलीले पनि भ्रमण गरी प्रचारप्रसारमा योगदान पुर्‍याएको छ। भ्रमण दलमा २५ जना भिक्षु, भिक्षुणी, श्रामणेर, उपासक र उपासिकाहरू सहभागी थिए।

अनोमा नेपालका महासचिव अशोक मानन्धरका अनुसार, अनोमा क्षेत्रको भौतिक पूर्वाधार विकास र ऐतिहासिक गरिमालाई विश्वस्तरमा चिनाउन नेपाल सरकार र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय भइरहेको छ।

शिबपुगढी, त्रिवेणी स्थित ज्येती बौद्ध विहारका अध्यक्ष सिंहबहादुर थापाले यस क्षेत्रलाई बौद्ध पर्यटकीय स्थलका रूपमा चिनाउन भ्रमणहरूले ठुलो मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय अनोमा बुद्ध विहारका अध्यक्ष सुग्रीव यादवले भने, बुद्ध धर्मावलम्बी र स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा रहेको यस स्थलमा विहार निर्माणको काम चाँडै सुरु हुने तयारीमा छ। पूर्वाधार निर्माणका योजना पनि तयार भइरहेका छन्।

लुम्बिनी विकास कोषले यस क्षेत्रलाई बुद्धिस्ट सर्किट (बुद्ध परिपथ) सँग जोड्ने योजना अघि सारेको छ। सदस्य सचिव दीपक श्रेष्ठका अनुसार, यस्ता ऐतिहासिक स्थलहरूको भ्रमणले आन्तरिक र बाह्य पर्यटक प्रवर्धननमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुस्ता पुग्ने पर्यटकहरूले अनोमा नदीको शान्त वातावरण, त्रिवेणी धाम र बुद्धसँग सम्बन्धित पुरातात्विक अवशेषको अवलोकन गर्ने गरेका छन्। स्थानीय प्रशासन र सरोकारवाला निकायले सडक पहुँच र प्रचारप्रसारमा ध्यान दिएमा यो क्षेत्र नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ।