• १८ चैत २०८२, बुधबार

तिला नदीमा बेलिब्रिज बन्ने

blog

पक्की पुल बगाएपछि बेलिब्रिज बन्ने स्थान भैँसीगौँडा । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, चैत १८ गते ।   बाढीले पुल बगाएर सम्पर्कविच्छेद भएको भैँसीगौँडामा बेलिब्रिज निर्माण हुने भएको छ । जिल्लाको तिलागुफा नगरपालिका–६ देखि ९ जोड्ने तिला नदीमाथि बेलिब्रिज बन्ने भएको हो । 

सरकारले भैँसीगौँडामा बेलिब्रिज बनाउने बाटो खोलिदिएपछि स्थानीय खुसी भएका छन् । २०७९ साल असोजमा आएको बाढीले पक्की पुल बगाएदेखि तिलागुफा नगरपालिका–९, १० र ११ तथा महाबै गाउँपालिका सडक सम्पर्कबाट वञ्चित छ । निर्माण सम्पन्न भएको पुल हस्तान्तरण नहुँदै बाढीले बगाएपछि कानुनी झन्झटका कारण पुनर्निर्माणमा ढिलाई हुँदै आएको थियो । 

गत चैत १० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरालाई लेखेपछि बेलिब्रिज बन्ने बाटो खुलेको हो । बेलिब्रिज ढुवानी र जडानलगायतको सम्पर्क खर्च कालीकोटको तिलागुफा नगरपालिकाले बेहोर्ने गरी मन्त्रीस्तरको निर्णय भएसँगै बेलिब्रिज बन्ने बाटो खुलेको हो । 

स्थानीय नवीन उपाध्याय ढकालले तिला नदीमाथि बेलिब्रिज निर्माण हुने भएकोमा खुसी व्यक्त गर्दै आउजाउमा सहज हुने बताउनुभयो । यहाँ पुल नहुँदा नागरिकले सास्ती पाइरहेका छन् भने बर्सेनि एक जनाको नदीमा बगेर ज्यानसमेत जाने गरेको छ ।