अमरराज नहर्की
तनहुँ, चैत १८ गते । तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्लाको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको हो ।
नारायणघाटबाट सिङ्तान जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर काफलडाँडास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा ट्याक्टर चालक ३० वर्षीय विष्णु माझी घाइते हुनुभएको छ ।
यसैगरी, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ पालिङ, कमलबारीमा मङ्गलबार साँझ माइक्रो बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । काठमाडौंबाट दमौली जाँदै गरेको बा.प्र.०१–००६ ख ७२०८ नम्बरको नेपाल माइक्रो समितिको हाईस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि दमौलीस्थित रत्नहरी अस्पताल र प्रदेश अस्पताल पठाइएको थियो ।
घाइते हुनेहरूमा बागलुङकी ३६ वर्षीया अन्जु क्षेत्री, रुपन्देहीका २८ वर्षीय रिकेश भण्डारी, व्यास–१ भादगाउँकी २५ वर्षीया स्मारिका थापा र सोही स्थानका २ वर्षीय बालक अर्पन थापा रहनुभएको छ । त्यसैगरी व्यास–९ झिमुवाका ३५ वर्षीया अमृता कार्की, ११ वर्षीय निश्चल कार्की, ११ वर्षीय कुशल कार्की, स्याङ्जाका २५ वर्षीय सह–चालक उदिप गुरुङ र धादिङकी ३५ वर्षीया चमेली सिटौला पाण्डे घाइते हुनुभएको छ । घाइतेमध्ये ६ जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने मध्यम अवस्थाका अर्पन थापा, अमृता कार्की र चमेली सिटौला पाण्डेलाई थप उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पठाइएको प्रनाउ विकले जानकारी दिनुभयो । प्रहरीले दुवै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।