बबई समाचारदाता
बबई (बर्दिया), चैत १८ गते । नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा तथा निर्वाचन व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेकी जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत महिला प्रहरी जवान पुष्पा विष्ट सम्मानित हुनुभएको छ । भारत सरकार अन्तर्गत सशस्त्र सीमा बल (एसएसबी) ले उहाँको कर्तव्यनिष्ठा, सतर्कता र व्यावसायिक आचरणको कदर गर्दै प्रशंसापत्रसहित सम्मान गरेको हो ।
उत्तर प्रदेशको लखिमपुर खेरीस्थित एसएसबीको ७० नम्बर बटालियनले आयोजना गरेको नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा विष्टलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रदान गरिएको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले विष्टलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रहरीका अनुसार विष्टले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सीमाक्षेत्रका मतदान केन्द्रमा सुरक्षात्मक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । साथै सीमा सुरक्षासम्बन्धी संयुक्त गस्ती तथा समन्वयमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । यी योगदानको उच्च मूल्याङ्कन गर्दै भारतीय सुरक्षा निकायले उहाँलाई सम्मानित गरेको हो ।
प्रहरी उपरीक्षक पौडेलले विष्टको कार्यक्षमता, अनुशासन र सीमाक्षेत्रमा देखाएको सक्रियताले सङ्गठनको छवि उज्यालिएको बताउनुभयो । “उहाँको समर्पण र दक्षताले अन्य प्रहरी कर्मचारीलाई पनि प्रेरणा दिएको छ,” उहाँले भन्नुभयो । नेपाल–भारत खुला सीमाका कारण दुवै देशका सुरक्षाकर्मीबिच नियमित समन्वय र संयुक्त गस्ती हुँदै आएको छ । यस्तो सहकार्यले सीमामा शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सम्मान प्राप्तिपछि प्रतिक्रिया दिँदै प्रहरी जवान विष्टले आफूले पाएको सम्मानले थप जिम्मेवारी र हौसला दिएको बताउनुभयो । “कर्तव्यपालनमा अझै प्रतिबद्ध भएर काम गर्ने छु,” उहाँले भन्नुभयो ।
भारतीय सुरक्षा निकायबाट प्राप्त यस सम्मानले सीमाक्षेत्रमा खटिने नेपाली सुरक्षाकर्मीको मनोबल उच्च बनाउने विश्वास गरिएको छ । साथै अन्तरदेशीय सहकार्य र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउन यसले सकारात्मक सन्देश दिएको सरोकारवालाको भनाइ छ ।