शशिधर पराजुली
विराटनगर, फागुन १४ गते । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहरू निर्वाचनसम्बन्धी तालिममा खटिनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकतासम्बन्धी सेवा दुई दिनका लागि बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै फागुन १४ र १५ गते नागरिकता शाखाका सेवाहरू स्थगन गरिएको जानकारी दिएको हो । कार्यालयका अनुसार २०८२ साल फागुन १४ देखि फागुन १५ गतेसम्म नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द रहने छन् ।
निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी खटनपटन भइसकेको र निर्वाचनमा खटिने कर्मचारीहरूले अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था भएकाले सेवा प्रवाह रोक्नुपरेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “निर्वाचनसम्बन्धी तालिम लिनुपर्ने व्यवस्था भएकोले यस कार्यालयको नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सेवा बन्द हुने बेहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”
प्रशासनले सेवा बन्द हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको समेत जनाएको छ । फागुन १६ गतेदेखि भने नागरिकता सम्बन्धी सेवाहरू पुनः सुचारु हुने छन् ।