• १४ फागुन २०८२, बिहिबार

बाँकेमा आचारसंहिता विपरीतका तुल र ब्यानर हटाइयो

blog

नरैनापुरमा प्रहरी लगाएर हटाउन लगाएको तुल र ब्यानर झण्डा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १४ गते।बाँके जिल्लाका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी आचारसंहिताको उल्लङ्घन गरी राखिएका तुल र ब्यानरहरू प्रहरीले हटाएको छ । 

आचारसंहिता जिल्ला अनुगमन समितिका अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले बाँकेको नरैनापुर लगायतका क्षेत्रमा सशस्त्र प्रहरी नै परिचालन गरी आचारसंहिता विपरितका सामाग्रीहरू हटाइएको जानकारी दिनुभयो ।

 उहाँले पटक पटक अनुरोध गर्दा पनि आचारसहिंता विपरितका सामाग्री राख्ने क्रम नरोकिँदा प्रभावकारी हस्तक्षेप गरी विभिन्न स्थानका सामाग्रीहरू हटाउन लगाइएको बताउनुभयो । 

आचारसंहिता विपरितका कार्यहरू खासगरी सवारीसाधनमा झण्डा लगाउने, माइकिङ्ग गर्ने र विभिन्न ठाउँमा तुल ब्यानर लगाउने कार्य बढेपछि प्रहरी परिचालन गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका अनुगमन अधिकृत खत्रीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राप्तीसोनारी र कोहलपुर क्षेत्रमा पनि त्यसखालका आचारसंहिता विपरितका कार्य विरुद्ध प्रहरी परिचालन गरिएको छ, डुडुवामा पनि आचारसंहिता विपरितका कार्यहरू रोक्ने काम भएको छ ।’

कोहलपुर क्षेत्रमा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपालको नेतृत्व सर्वदलीय, सर्वपक्षीय बैठक राखी समझदारी गरिएको भएपनि त्यसखालका क्रियाकलाप भए गरेको पाइएपछि प्रहरीले हस्तक्षेप गरेको अनुगमन अधिकृत खत्रीले बताउनुभयो । 

नेपालगन्जमा पनि विभिन्न उम्मेदवारले मोटरसाइकल तथा अटोरिक्सामा निर्वाचन चिन्ह अङ्कित झण्डा लगाएको पाइएकोले उपमहानगरपालिका भित्र पनि अनुगमनलाई तिव्र पार्नुपर्ने स्थानीयको माग छ ।

उता, आचारसंहिता जिल्ला अनुगमन समितिले उजुरी आएको वा नआएको दुबै अवस्थामा अनुगमन गरिरहेको जनाउँदै उलङ्घन भएको ठाउँमा सचेत पार्ने र ताकेता गर्ने कार्य पनि निरन्तर गरिरहेको जनाएको छ ।