बागलुङ समाचारदाता
बागलुङ, फागुन १४ गते । निर्वाचन आचारसंहिताले आमसभा गर्न छुट दिए पनि बागलुङका अधिकांश उम्मेदवार जनताको घरदैलोमा पुगेर भेटघाट अभियानमा केन्द्रित भएका छन् । आमसभा गरेर भाषणबाजी गर्नुभन्दा जनताको घरदैलोमा पुग्दा स्थानीयका माग र वास्तविक समस्या बुझ्न सकिने हुँदा घरदैलो अभियानमा केन्द्रित भएको उम्मेदवारले बताएका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीस जनताको घरदैलोमा डुल्न व्यस्त हुनुहुन्छ । श्रीसले भाषणभन्दा काम गरेर देखाउने भन्दै जनताले उठाएका एजेन्डालाई सङ्कलन गर्न घरदैलो अभियानमा केन्द्रित भएको बताउनुभयो । एमालेले बागलुङ क्षेत्र नं. १ का आफ्ना उम्मेदवार हिराबहादुर केसीको पक्षमा उचित वातावरण सिर्जना गर्न नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकको सहभागितामा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । बागलुङ क्षेत्र नं. १ का जैमिनी नगरपालिका, बरेङ र काठेखोला गाउँपालिकामा घरदैलो अभियान सकेको एमालेले बागलुङ नगरका वडामा घरदैलो अभियान चलाइरहेको एमाले जिल्ला सचिव गणेश थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का साझा उम्मेदवार कृष्ण अधिकारीले मतदाता भेटघाटलाई तीव्रता दिनुभएको छ । उम्मेदवार अधिकारीसहितको टोलीले घरदैलो र मतदाता भेटघाट गर्दै चुनाव प्रचार गरिरहेको निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाले जानकारी दिनुभयो । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्का सहितको टोलीले पनि घरदैलो गरी मतदाता भेटघाटलाई केन्द्रित गरेको छ ।
जिल्लाभित्रै १२ हजारबढी प्रविधि विकासको क्षेत्रमा रोजगारी सिर्जना गर्ने, बागलुङको हावापानी सुहाउने खालको डाटा सेन्टर बनाउने, कृषिलाई व्यावसायिक बनाउने, वितरण प्रणाली पारदर्शी, सहकारी पीडितको रकम फिर्ता गर्ने जस्ता काम गर्ने खड्काका चुनावी प्रतिबद्धता छन् ।