रामकृष्ण बोहरा
बागलुङ, फागुन १३ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु भएको छ ।
बुधबार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, सहायक प्रजिअ नवराज बराल, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजाल र प्रमुख कोष नियन्त्रक किशोर श्रेष्ठले मतदान अधिकृतलाई प्रशिक्षण दिनुभएको हो ।
तालिममा निर्वाचन सुरक्षा र मतदानका क्रममा आइपर्ने सम्भावित समस्या समाधानका उपायबारे जानकारी दिइएको थियो । साथै, जिल्लाका संवेदनशील मतदान केन्द्रको प्रकृति र ती क्षेत्रमा अपनाउनुपर्ने रणनीतिका बारेमा समेत मतदान अधिकृतहरूलाई सचेत गराइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङमा २ सय ३० स्थायी र २ वटा अस्थायी गरी कुल २ सय ३२ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकिएको छ ।
निर्वाचनका लागि २ सय ३२ मतदान अधिकृत र २ सय ३२ सहायक मतदान अधिकृत गरी ४ सय ६४ जना तथा केही जगेडा कर्मचारीलाई तालिम दिइएको छ । जिल्लाभर १ हजार ३ सय ९० कर्मचारी आवश्यक पर्ने भएकाले निजामती सेवा र स्थायी शिक्षकहरूलाई खटाइएको छ । जिल्ला निर्वाचन अधिकारी रिजालले स्वयंसेवकमार्फत फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
यसपटक बागलुङको गलकोट नगरपालिका–११ मा एक मतदान केन्द्र थपिएको छ । जिल्लामा ९४ हजार ८ सय ६ महिला र ९८ हजार ५ सय ७४ पुरुष गरी कुल १ लाख ९३ हजार ३ सय ८१ मतदाता रहेका छन् ।
यसैबीच बुधबार धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान अभ्यास समेत गरिएको छ । अभ्यासमा मतदाता नामावली रुजु गर्ने, मतपत्र लिने, अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य मतदान गर्ने र मतपत्र पट्याउने विधिबारे प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।