• १८ चैत २०८२, बुधबार

निफ ‘मेन इभेन्ट’ मा प्रवेश

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १८ गते । आगामी चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वार्ड थिममा आयोजना हुन लागेको महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो ।

निफका अध्यक्ष केपी पाठकका अनुसार “प्रि इभेन्ट सकिएलगत्तै हामी मेन इभेन्ट प्रवेश गरेका हौँ । विदेशी अतिथि आउने क्रम सुरु भइसक्यो ।” निफको उद्घाटन समारोहमा बलिउड निर्देशक रमेश सिप्पीको उपस्थिति रहने उहाँले बताउनुभयो । निर्देशक सिप्पीसहित कलाकार किरण जुनेजा र नेपाली मूलका भारतीय चलचित्र निर्माता नीलकण्ठ रेग्मी पनि निफमा सहभागी हुने छन्, उहाँले भन्नुभयो । 

चैत १९ गते सिभिल मलमा प्रमुख अतिथिका रूपमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थिति रहने पाठकले बताउनुभयो । आयोजकका अनुसार महोत्सवमा नेपालसहित ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रम पनि राखिने छ । प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रसियन चलचित्र पनि ‘निफ’ मा प्रदर्शन गरिने जनाइएको छ । 

निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र महानायक राजेश हमालबिच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद आयोजना हुने छ । कार्यक्रममा दुवैले आफ्नो व्यक्तिगत अनुभव, चलचित्र क्षेत्रको यात्रा र  भविष्यबारे अन्तरसंवाद गर्ने छन् ।