गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १८ गते । नेपालयको ‘आर’ शालामा दार्जिलिङका गायक तथा सङ्गीतकार दुर्गा खरेलको साङ्गीतिक कार्यक्रम पलेँटी सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत गरिएका गीतको छनोट दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनाका आधारमा गर्नुभएको थियो ।
कार्यक्रममा ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’, ‘पहाड सुक्यो जस्तो लाग्छ’ ‘डाँडापारि हिउँ परेछ, डाँडावारि पानी’, ‘लिई गला नदीको बालुवाको ओठ लिएर, पिउँछु मुहान सुराको बेहोस भएर’ ’प्रियसीको हत्केलामा कोरिएका रेखाहरू, हेर्दाहेर्दै बिर्सिएछु भन्नपर्ने कुराहरू’ लगायतका गीत गुञ्जिएका थिए ।
पुराना सिर्जना सम्झने क्रममा सङ्गीतकार शान्ति ठटालका सिर्जनालाई पनि समेटिएको थियो । ठटालकै सिर्जना सम्झँदै गर्दा अभिज्ञा घिमिरेले ‘कुन जुनीको पाप मलाई आज लागेछ, निर्मोहीको मायाको व्यथा उर्लिरहन्छ’ सुनाउनुभएको थियो । प्रस्तुतिमा ६० को दशकभन्दा अगाडि नै दार्जिलिङमा लोकप्रिय बनेका एमबी सुन्दासका गीत पनि परेका थिए । कार्यक्रममा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), पारशमणि सुवेदी र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (रिदम गितार) र सुदीप खत्री (बेस गितार) को सहभागिता रहेको थियो ।