• १८ चैत २०८२, बुधबार

मेलामा पाँच लाखभन्दा बढी दर्शक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १८ गते । पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोक सांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपद्वारा आयोजित १३ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८२ सम्पन्न भएको छ । मेला काठमाडौँमा उद्घाटन भई पाँचखाल, पोखरा, बुढानीलकण्ठ, वसन्तपुर र पाटन दरबार क्षेत्रलगायत विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको थियो ।

मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, दक्षिण अफ्रिका, इजरायल र नेपालका कलाकारको सहभागिता रहेको थियो । सहभागी कलाकारले आआफ्ना देशका मौलिक लोकसंस्कृति झल्किने प्रस्तुति दिएका थिए ।

सन् २००२ देखि प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुँदै आएको मेलामा विभिन्न देशका कलाकारले आफ्ना मौलिक लोकसंस्कृति झल्किने प्रस्तुति दिएका थिए । कार्यक्रमलाई देशभरबाट पाँच लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए भने टेलिभिजन, युट्युब र फेसबुकमार्फत पनि उल्लेखनीय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष आरसी कोइरालाले जानकारी दिनुभयो । 

एभरेस्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक शीतल आचार्यले आगामी चौधौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८४ को तयारीमा जुट्ने जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् ।