• २० असोज २०८१, आइतबार

मदन भण्डारी राजमार्ग निर्माणको काम जारी

blog

मदनभण्डारी राजमार्गअन्तर्गत प्युठानको सौतामारे फेदी सडक । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, असोज २० गते । मदन भण्डारी राजमार्गको गुल्मी–प्युठान सडक खण्डको निर्माण कार्य सुस्त गतिमा जारी रहेको छ । सिमलटारी–सौतामारे–मच्छी सडक खण्डको डेढ वर्षमा बढीमा १८ प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।

२०८२ साउन ५ गते निर्माण सम्पन्न गर्नेगरी श्रेष्ठ सक्षम जेभीले २०७९ कात्तिक ६ गते सम्झौता गरेको थियो । एक अर्ब ४५ करोड ३२ लाख नौ हजार ९९० रुपियाँ लागत रहेको योजनाको काम ढिला हुँदा सर्वसाधारणसँगै सवारीसाधन र यात्रुले दुःख पाएका छन् ।

आयोजनालाई तीव्रता दिन पटक–पटक कार्यालय र निर्माण कम्पनीलाई समन्वय गरे पनि काम अघि बढ्न नसकेको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताउनुभयो । 

“निर्माण व्यवसायीले काम नगर्दा अहिले जनताले दुःख पाएका छन्” अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो, “अहिले वर्षामा धेरै घर पहिरोको जोखिममा परेका छन् ।” बाटो समयमा नबन्दा हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा गर्न कठिनाइ भएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो । 

३१ दशमलव ८ किलोमिटर सडकमध्ये प्युठान क्षेत्रमा १५ किलोमिटर पर्छ । ७ दशमलव ७५ मिटर चौडाइसहितको कालोपत्रे गर्ने सडकको म्याद सकिन १० महिना मात्र बाँकी छ । कामलाई तीव्रता दिन आयोजना कार्यालय गुल्मीले पटक–पटक ताकेता गर्दैआएको इन्जिनियर दीपक विकले बताउनुभयो । हालसम्म २५ करोड भुक्तानी भइसकेको समेत उहाँले बताउनुभयो ।