• २० असोज २०८१, आइतबार

सिन्धुलीमा ३९१ घरपरिवारले पाए राहत सामग्री

blog

गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण हुँदै। तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असोज २० गते। सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१  घर परिवारले राहत सामग्री पाएका छन्।

तीमध्ये आइतबार मात्रै खुर्कोटमा सुनकोशी नदी बाढी प्रभावित गोलन्जोर गाउँपालिका–७ खुर्कोटका १७७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। तीमध्ये ९६ घर परिवारले यसअघि नै पहिलो चरणको राहत सामग्री पाइसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी तथा राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणि फुयालका अनुसार हालसम्म सुनकोशी नदी, बागमती नदी र रोसीखोलामा आएको बाढी तथा विभिन्न ठाउँमा गएको पहिरोबाट प्रभावित ३९१ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो। 

गोलन्जोर गाउँपालिकाका १७७, सुनकोसी गाउँपालिकाका २०३ र हरिहरपुरगढी गाउँपालिकाका ११ घरपरिवारले उक्त सामग्री पाएका छन्। असोज ११ र १२ गतेको अविरल वर्षापछि बाढीपहिरो प्रभावित परिवारलाई सम्बन्धित पालिका तथा वडामा नै गएर राहत सामग्री वितरण हुँदै आएको उहाँले जानकारी दिनुभयो। 

सुनकोशी नदीको बाढीबाट सुनकोशी र गोलन्जोर गाउँपालिका तथा बागमती नदीको बाढीबाट हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा प्रभावित भएका थिए। एकद्वार प्रणालीमार्फत जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट बढी  पीडित घर परिवारलाई राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जानकारी दिनुभयो। 

बाढीपहिरो पीडित परिवारलाई जिल्ला रेडक्रस शाखाले गैरखाद्य सामग्री र साझेदार संस्था(विभिन्न सामाजिक सङ्घ, सस्था)ले खाद्य सामग्री उपलब्ध गराएको छ।