• २० असोज २०८१, आइतबार

रुम्जाटारमा समिटको परीक्षण उडान

blog

ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा समिट एयरले परीक्षण उडान गरेपछि ।

शेरबहादुर राई

ओखलढुङ्गा, असोज २० गते । वर्षौँदेखि ठप्प रहेको ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा समिट एयरले परीक्षण उडान गरेको छ । नियमित उडान गर्ने योजनासहित आइतबार दिउँसो समिट एयरलाइन्सले रुम्जाटार विमानस्थलमा परीक्षण उडान गरेको हो । 

यात्रु पर्याप्त भएमा नियमित उडान हुने बताइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा एयरलाइन्सले परीक्षण उडान गरेको हो । सभापति खतिवडासहित १४ जना यात्रु र चालक दलका चारजना जहाजमा रुम्जाटार आउनुभएको थियो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पटक–पटक पहल र ताकेता गरेपछि करिब १० वर्षदेखि बन्द रहेको रुम्जाटार विमानस्थलमा जहाज आएको ओखलढुङ्गाको सङ्घीय सांसद समेत रहनु भएका सभापति खतिवडाले बताउनुभयो । यात्रु भएको खण्डमा आगामी बुधबारदेखि नियमित उडान हुने सभापति खतिवडाले जानकारी दिनुभयो । 

बिरामी तथा अत्यावश्यक भएकाको लागि सहज हुने सभापति खतिवडाको भनाइ छ । २०३१ सालबाट नियमित उडान सुरु गरेको नेपाल एयरलाइन्स तथा निजी एयरलाइन्सहरूले २०७२ सालदेखि नियमित उडान बन्द गरेका थिए । उडान सञ्चालन गर्नेबारे पहल भए पनि नियमित हुन सकेको थिएन । 

बाढीका कारण सडक अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुहरू परीक्षण उडानमार्फत रुम्जाटार आएका थिए । विमानस्थलमा कालोपत्रेको काम सम्पन्न भइसकेको छ ।