• २३ चैत २०८२, सोमबार

फेरि त्यस्तो दिन नआओस्

blog

विसं २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन अविष्मरणीय घटनाका रूपमा रहेको छ । त्यो आन्दोलन विरोध प्रदर्शन मात्र नभई नेपाली विद्यार्थी तथा युवाको चेतना र मानसिकतामा आएको ठुलो परिवर्तनको सङ्केत पनि हो । नेपाल सरकारले २०८२ भदौ १७ गते सबै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदाको परिणाम थियो त्यो आन्दोलन । जेनजी आन्दोलन काठमाडौँको माइतीघरबाट सुरु भएको थियो । त्यस क्रममा ७० भन्दा बढी युवाले ज्यान गुमाए । त्यो घटनाले गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु प¥यो । त्यसबेला गृहमन्त्री रमेश लेखक हुनुहुन्थ्यो । 

आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाए । धेरै नेताका घर जले । महत्वपूर्ण राष्ट्रिय सम्पदामा आगजनी र तोडफोड भए । अपराध गरेर जेलमा रहेका कैदीबन्दी भागे । आन्दोलनका कारण सामाजिक अवस्था निकै भयभित बनेको थियो । हाम्रो बाल मस्तिष्कमा त्यो आन्दोलनले धेरै असर पारेको थियो । त्यो समयमा हामी घरबाट बाहिर निस्किन पनि डराइरहेका थियौँ । अब के हुन्छ भन्ने त्रासमा हामी बाँचेका थियौँ । स्कुल कलेजको पोसाकमा मारिएका विद्यार्थी (दाइदिदी) को लास देख्दा अति दुःख लागेको थियो । 

नेपाली सेनाले त्यो भयभित अवस्थालाई सम्हाल्न सफल भयो । राष्ट्रपति रामचन्द्र पौडेलले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । देशमा बढेको भ्रष्टाचार, बेरोजगारी, नातावादको विरोधमा पनि जेनजी आन्दोलन भएको हो । अझै पनि मेरो मनमा ‘के त्यो आन्दोलन हुनुपर्ने नै थियो ? युवाले ज्यान गुमाउनु पर्ने नै थियो ? सार्वजनिक सम्पत्तिको तहसनहस हुनुपर्ने नै थियो ?’ भन्ने लगायतका प्रश्न मनमा खेलिरहन्छ । यस आन्दोलनले गर्दा हामी विद्यार्थीलाई आफ्नो भविष्यप्रति निकै चिन्ता उत्पन्न भएको छ । देशको अवस्था यस्तै रह्यो भने मुलुकको समृद्धि र विकास कहिले होला ? कहिले हामीले सुशासन कायम भएको देख्न पाउँछौँ ? देशको जस्तो शिक्षा, रोजगार र विकास भएर युवा विदेश जाने वातावरणको सिर्जना कहिले होला ? राजनीतिक स्थिरता कहिले होला ? आदि प्रश्न अझै अनुत्तरित छ । यी प्रश्नले हामी विद्यार्थीलाई सोचमग्न बनाएको छ । 

यो आन्दोलनले हामी जस्ता विद्यार्थीलाई केही सचेत पनि बनाएको छ । हामी कुनै दलका झन्डा बोक्ने कार्यकर्ता नभई यो देशका सचेत नागरिक पनि हौँ भन्ने भावनाको विकास भएको छ । देशमा भइरहेका बेथितिलाई हटाएर परिवर्तन ल्याउनु पर्छ भन्ने भावनाको विकास भएको छ । हरेक नेपाली जनताले ती निर्दोष युवाले बगाएको रगत यत्तिकै बगाएका होइनन् र त्यो खेर जाने छैन भन्ने विश्वास लिएका छन् । 

परिवर्तन ल्याउनका लागि नयाँ सरकार बनाउन फागुन २१ गते निर्वाचनको घोषणा भइसकेको छ । देशमा निर्वाचनको माहोल सिर्जना भएको छ । सबै उम्मेदवार निर्वाचनका लागि तयार भएका छन् । घर घरमा जनतासँग मत मागिरहेका छन् । अब जनताले हाम्रोलाई होइन राम्रोलाई मत दिनु पर्छ । उम्मेदवारले मुलुक विकासको प्रतिबद्धता जनतासँग गर्नु पर्छ । अग्रज पुस्ताबाट पछाडिका पुस्ताले काम सिक्नु पर्छ । देशमा आर्थिक परिवर्तन ल्याउन हामी सबै मिलेर लागौँ । अब फेरि देशमा आन्दोलन गर्नु नपरोस् । 

   मुना     

Author

श्रद्धा आचार्य कक्षा : ९, भ्याली पब्लिक मावि सुन्दरबस्ती, भङ्गाल, काठमाडौँ