• २० असोज २०८१, आइतबार

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

blog

जनकपुर, असाेज २० गते । मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोकनृत्यमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । 

दशैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गरिन्छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट महत्व छ । घटस्थापनादेखि विजयदशमीसम्म देवी स्तुतिको रुपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परम्परा छ । बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ ।  

यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमुना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा  निहित विशेष अर्थलाई सङ्केत गर्दछ । झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । 

त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत  वातावरणको निर्माण हुन्छ । झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आइरहेका छन् । 

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको मानिन्छ । 

वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कालान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको संस्कृतिविद्हरुको भनाइ छ । छैटौं शताब्दीदेखि ११ औं शताब्दीसम्मको बीचमा तन्त्रशक्ति हावी भएको बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ ।