• २० असोज २०८१, आइतबार

सर्वोच्च बारमा दुई समूहको प्रतिस्पर्धा

blog

काठमाडौँ, पुस १८ गते । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहले प्यानलसहित मनोनयन दर्ता गराएका छन्। नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँदै छ। त्यही दिन नेपाल बार एसोसिएसनमा प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी परिषद् सदस्यका लागि पनि निर्वाचन हुनेछ। 

यस पटक निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा छन्। लोकतान्त्रिक समूहबाट अध्यक्षमा हरिशङ्कर निरौलाले उम्मेदवारी दिनुभएको छ। यस्तै प्रगतिशीलबाट तुलसी भट्ट अध्यक्षको प्रत्याशी हुनुहुन्छ। दुवै वरिष्ठ अधिवक्ता हुनुहुन्छ। 

यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले हुनुहुन्छ। सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा हुनुहुन्छ। सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य उम्मेदवार हुनुहुन्छ। एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ। एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल हुनुहुन्छ। 

निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यकारिणी परिषद् सदस्यका लागि पनि ११ जना नै प्रतिस्पर्धामा हुनुहुन्छ। सर्वोच्च बारमा ६२१ जना मतदाता छन्।