• १३ साउन २०८१, आइतबार

नेपालीपन अन्त्यको चिन्ता

blog

काठमाडौँ, पुस १८ गते । इतिहासकार ज्ञानमणि नेपाललाई नेपालीपनको अन्त्य हुने चिन्ताले अचेल निद्रा लाग्न छाडेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो समय नेपाली पोसाक, विक्रम संवत् र नेपाली झन्डाबारे विभिन्न तर्क गरी तिनलाई विस्थापित गर्ने होड चलेको बताउँदै भन्नुभयो, “यो होडले नेपालीपनको अन्त्य हुन्छ। यो चिन्ताको विषय हो। यही चिन्ताले मलाई निद्रा नलाग्ने समस्या देखिएको छ।”

उहाँले विक्रम संवत् भारतका राजा विक्रमादित्यले चलाएको कुरा गलत भएको तर्क गर्दै नवौँ शताब्दीपछि चलनमा आएको गणतन्त्र संवत् भएको तथ्य र प्रमाण आफूले फेला पारेको दाबी गर्नुभयो। विक्रमादित्य कुनै एक राजा नभई छ जना राजाले आफ्नो नामको अगाडि राखेको पदवी मात्र रहेको बताउँदै नेपाली पोसाक दौरा, सुरुवाल र टोपीको प्रयोग पनि शाह वंशभन्दा पहिलेदेखि नै चलनचल्तीमा रहेको बताउनुभयो। 

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधान बनाउने सन्दर्भमा नेपाली झन्डाबारे संसद्मा उठेको बहसमा आफूले आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाली सार्वभौमसत्तामा आँच नआउने तर्क गर्दा सबै सहमत भएको तर्क गर्नुभयो। 

उहाँले नेपाली पोसाक लगाउनुको तात्पर्य पनि विश्वमै नेपालीको पहिचान छुट्टै हुने कारण भएको उल्लेख गर्दै भन्नुभयो, “विदेशीले पोसाककै कारण नेपालीलाई चिन्न थालेका छन्।”

कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपाललाई ११ हजार १११ रुपियाँसहितको राष्ट्रिय धरोहर सम्मान प्रदान गरिएको थियो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको अगुवाइमा २०७० सालदेखि हरेक पुस १७ गतेलाई राष्ट्रिय टोपी दिवसका रूपमा मनाइँदै आएको छ।