ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, चैत १६ गते । विश्वशान्ति तथा मानव एकताको कामनासहित ताप्लेजुङमा आयोजना गरिएको वज्रगुरु मन्त्रजप पूजा सम्पन्न भएको छ । सदरमुकाम फुङलिङ बजारनजिक सुकेटार क्षेत्रमा आयोजना गरिएको तीनदिने मन्त्रजप पूजा सम्पन्न भएको हो । बौद्ध धर्ममा आधारित बृहत् पूजा वज्रगुरु मन्त्रजपको यस पटक सातौँ संस्करण आयोजना गरिएको हो । गएको बिहीबार सुरु भएको मन्त्रजप पूजा विविध धार्मिक गतिविधि गर्दै सम्पन्न भएको छ ।
ताप्लेजुङ वज्रगुरु मन्त्रजप पूजा मूल आयोजक समितिका सदस्यसचिव पासाङ रिता शेर्पाका अनुसार विगत वर्षमा झैँ यस वर्ष पनि पूजा भव्य रूपमा सम्पन्न भएको छ । पूजामा १३ औँ अवतारी कुन्दोलिङ ताक्छाक रिन्पोछे प्रमुख लामाका रूपमा सहभागी हुनुभएको थियो । मन्त्रजपमा प्रमुख लामा रिन्पोछेसहित ३० जनाभन्दा बढी अन्य बौद्ध धर्मका स्थानीय लामाले प्रवचन तथा अभिषेक दिनुभएको समितिका सदस्यसचिव शेर्पाले जानकारी दिनुभयो । पूजाले मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ हुने र विघ्नबाधा समाप्त हुनुका साथै सुख शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास गर्ने गरिएको सदस्यसचिव शेर्पाको भनाइ छ ।
वज्र गुरु मन्त्रजपमा ताप्लेजुङसहित पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनले सहभागिता जनाएका आयोजक समितिका प्रचार संयोजक तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको सिक्किम, दार्जिलिङलगायतबाट भक्तजन मन्त्रजपमा सहभागी भएका छन् । मन्त्रजपमा बौद्ध धर्म मात्र नभई हिन्दु, किराँतलगायतका धर्ममा आस्था राख्ने भक्तजनसमेत सहभागी हुँदै आएको उहाँले बताउनुभयो । २०७३ सालबाट सुरु भएको वज्रगुरु पूजा कोभिड–१९ का समयमा तीन वर्ष स्थगित भएको र त्यसपछि प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ ।