• १६ चैत २०८२, सोमबार

जेनजी सहिद परिवारलाई रोजगारी

blog

जेनजी सहिद दीपकसिंह साउदकी आमा लक्ष्मी साउद सहिदको नामावली भएको फ्रेम ग्रहण गर्नुहुँदै । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, चैत १६ गते ।   जेनजी आन्दोलनमा सहिद हुनुभएका बैतडीको शिवनाथका दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाउनु भएको छ । सहिद दीपककी भाउजू सरस्वती साउदले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाउनुभएको हो ।

आइतबार नेपाल विद्युत् प्राधिकरणको जनसाधारण विभागले जेनजी सहिद परिवारलाई रोजगारी पाउने परिवारका सदस्यको नामवली प्रकाशित गरेको छ । जारी गरिएको सूचनामा सहिद दीपकसिंह साउदकी भाउजू सरस्वती साउदको नाम उल्लेख गरिएको छ । प्राधिकरणले प्रकाशित गरेको सूचनामा  साउदसहित २७ जना जेनजी सहिद परिवारलाई रोजगारी दिने उल्लेख गरिएको छ ।   

शिवनाथ गाउँपालिका–२, शर्माली घर भएका दीपकसिंह साउदको भदौ २३ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उहाँ कृषि जेटिएको अध्ययन पूरा गरी थप अध्ययनका लागि काठमाडौँ जानुभएको थियो । 

जेनजी प्रदशर्नमा उहाँको मृत्युपछि सरकारले सहिद घोषणा गर्दै उहाँको परिवारलाई १५ लाख रुपियाँ राहत उपलब्ध गराएको थियो । राहत दिन बैतडीका तत्कालीन प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेललगायतको टोली सहिदको घरमै पुग्नुभएको थियो । राहतसँगै सरकारले परिवारलाई रोजगारी दिने घोषणा  पनि  गरेको थियो ।

घरपरिवारको सहमति अनुसार बुहारीको नामबाट रोजगारीका लागि निवेदन दिएको सहिदकी आमा लक्ष्मी साउदले बताउनुभयो । सहिद दीपकको घरपरिवारलाई गाउँपालिकाबाट पनि एक लाख रुपियाँ राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । उहाँले गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि सहिद परिवारलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।