• १६ चैत २०८२, सोमबार

समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता

blog

नौरते नेपाली

सिँजा (जुम्ला), चैत १६ गते । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कालीकोटबाट नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले समानुपातिकबाट यशुदा बराललाई सङ्घीय सांसद बनाएको छ । उहाँ अपाङ्गता  क्लस्टरबाट सांसद बन्ने अवसर पाउनुभएको हो । उहाँको दायाँ खुट्टा केही छोटो छ । चार वर्षको उमेरमा ढुङ्गामा च्यापिएपछि उहाँको दायाँ खुट्टा छोटो भएको हो । 

सानै उमेरदेखि नै शारीरिक बनावटका आधारमा हुने विभेदपूर्ण व्यवहारको सामना गर्नुपरेको अनुभव सुनाउँदै बरालले आफूले त्यस्ता व्यवहारको निरन्तर प्रतिवाद गर्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अपाङ्गता कमजोरी होइन । क्षमता हो भन्ने सोचका साथ अगाडि बढ्दा नै म यहाँसम्म आइपुगेको छु ।”

बरालका अनुसार कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिले अझै बढी कठिन जीवन भोगिरहेका छन् । कठिन भौगोलिक अवस्था, कमजोर पूर्वाधार र चेतनाको कमीका कारण सामान्य समस्या भएका व्यक्तिले पनि अरूको सहारामा जीवनयापन गर्नुपर्ने बाध्यता छ ।  

उहाँ अपाङ्गता भएका व्यक्तिप्रति समाज र राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुहुन्छ । राज्यका हरेक निकायमा उनीहरूको समान सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै उहाँले संसद्मा यस विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अपाङ्गता परिचयपत्र वितरणमा रहेको विभेद हटाउने, सेवा सुविधाको समान पहुँच सुनिश्चित गर्ने र कानुनी संरचना बलियो बनाउने उहाँको मुख्य एजेन्डा छन् । सांसद बरालले कर्णालीको समग्र विकासका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ । विशेष गरी कर्णाली राजमार्गको अवस्था दयनीय रहेको भन्दै सुरक्षित र सहज यातायातका लागि यसको स्तरोन्नति अपरिहार्य भएको उहाँको भनाइ छ । 

उहाँले कर्णालीका १० वटै जिल्लाको आवाज प्रतिनिधि सभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्णालीमा पाइने जडीबुटी, प्राकृतिक स्रोत, पर्यटन सम्भावना र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर राष्ट्रियस्तरमा प्रवर्धन गर्नुपर्ने उहाँको धारणा छ । साथै कर्णालीप्रति हुँदै आएको बजेट विभेद अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबै जिल्लामा समान रूपमा बजेट वितरण गरिनुपर्ने र विकासका अवसर सन्तुलित रूपमा हुनुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य क्षेत्र सुधारतर्फ पनि ध्यान जान आवश्यक छ । उहाँ सामान्य उपचारका लागिसमेत कर्णालीका नागरिकले दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्न नीतिगत सुधारको आवश्यकता औँल्याउनुहुन्छ । दुर्गम बस्तीमा अनिवार्य रूपमा बर्थिङ सेन्टर स्थापना गर्नुपर्ने र मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उहाँको माग छ । शिक्षा क्षेत्र सुधारका लागि पनि संसद्मा आवाज उठाउने बताउँदै उहाँले बाल शिक्षालाई गुणस्तरीय, पहुँचयोग्य र समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो । कर्णालीका समस्यालाई राष्ट्रिय मूलधारमा ल्याउने आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै बरालले न्याय र समानताको पक्षमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेष गरी बलात्कार तथा अन्यायका पीडितको न्यायका लागि निरन्तर लड्ने उहाँले बताउनुभयो । निर्मला पन्त र इनिसा विक घटनाले न्याय प्रणालीप्रति प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनामा पीडितलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । 

व्यक्तिगत पीडालाई शक्ति बनाउँदै राजनीतिमा प्रवेश गर्नुभएकी प्रतिनिधि सभा सदस्य यशुदाको यो राजनीतिक यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई अपाङ्गता भएका हजारौँ व्यक्तिका लागि प्रेरणाको स्रोत बनेको छ ।